मोरक्को – विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफूबाट त्रुटि भएको भन्दै माफी मागेका छन् ।
यद्यपि, मोरक्कोमा बसेको बैठकमा फिफाका पदाधिकारीहरूको समर्थन पाएपछि इन्फान्टिनो फिफा अध्यक्ष पदमै रहने भएका हुन । बढ्दो आलोचनापछि अध्यक्ष इन्फान्टिनोले हिजो व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए ।

झण्डै चार घण्टा लामो बैठकपछि फिफाले विज्ञप्ति निकाल्दै व्यवस्थापन बोर्डले अध्यक्ष इन्फान्टिनोप्रति आफ्नो समर्थन रहेको पुष्टि गरेको जनाएको छ । युरोपेली फुटबल महासंघ, यूईएफएले गएको हप्ता निजी लगानी भित्र्याउने योजनासम्बन्धी प्रस्तावप्रति विश्वास गुमाएको जनाएको थियो । यूईएफएले यो प्रस्तावलाई अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौताको संज्ञा दिएको थियो । यस विषयमा फिफाभित्रबाट पनि आलोचना भएको हो ।
फिफाका महासचिव माटियास ग्रोफस्ट्रोमले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा यस अवस्थालाई दुःखद र निन्दनीय घटना भनेका छन् । तर बैठकपछि उनले पनि व्यवस्थापन बोर्डसँगै अध्यक्ष इन्फान्टिनोप्रति पूर्ण समर्थन जनाएका छन् ।
फिफाका अध्यक्ष इन्फान्टिनो र महासचिव ग्रोफस्ट्रोमले फिफाका उपाध्यक्ष, काउन्सिल सदस्य तथा २११ सदस्य संघलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति माफी मागेका छन् । इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपसहित फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेपछि विवादमा तानिएका हुन् ।







प्रतिक्रिया