जनकपुरधाम, २१ साउन – धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२-८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए । यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फछ्र्योट भएको सूचना अधिकारी महतोले बताउनुभयो । उहाँका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

अदालतले अघिल्लो आव २०८१-८२ मा पाँच हजार ७०१ मुद्दा फछ्र्योट गरेको थियो । त्यस वर्ष पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार १७९ मुद्दा अघिल्लो आवबाट सरेर आएका थिए । कूल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फछ्र्योट गरिएको अदालतले जनाएको छ ।
धनुषा जिल्ला अदालतले स्वचालित पेसी प्रणाली लागू गरेपछि सेवाग्राहीले छिटो, छरितो र पारदर्शी न्याय सम्पादनको अनुभूति गर्न थालेको अदालतको दाबी छ । प्रणाली लागू भएपछि पेसी व्यवस्थापनमा सहजता आएको, मुद्दाको सुनुवाइ प्रक्रिया व्यवस्थित भएको तथा सेवाप्रवाहमा सुधार आएको सूचना अधिकारी महतोले बताउनुभयो । अदालत प्रशासनले आगामी दिनमा पनि न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै लैजाने जनाएको छ ।







प्रतिक्रिया