मुख्य समाचार

अनलाइन सट्टेबाजीविरुद्ध पथरी प्रहरीको एक्सन : ५ जना पक्राउ, थपको खोजी तीव्र

अनलाइन सट्टेबाजीविरुद्ध पथरी प्रहरीको एक्सन : ५ जना पक्राउ, थपको खोजी तीव्र


मोरङ, २१ साउन । ईलाका प्रहरी कार्यालय पथरीले अनलाइन सट्टेबाजी तथा अभौतिक (भर्चुअल) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ।

प्रहरीका अनुसार अभौतिक मुद्रा सम्बन्धी कसुर तथा अनलाइन सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ का निरज दुलाल र महावीर अग्रवाल, पथरीशनिश्चरे–२ का निखिल श्रेष्ठ र सखिल श्रेष्ठ, तथा पथरीशनिश्चरे–९ का विवेक तिम्सिना रहेका छन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक  वीरदत्त पन्तका अनुसार यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ। प्रहरीको अपरेसन तीव्र बनेपछि केही शंकास्पद व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पक्राउ परेकाहरू अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न रहेको देखाएको जनाएको छ। पछिल्लो समय अनलाइन बेटिङका कारण ठगीमा परेको तथा त्यसमा संलग्न व्यक्तिहरूबारे गुनासो बढ्न थालेपछि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै निगरानी कडा बनाएको हो।

प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको पहिचान, खोजी र अनुसन्धानलाई अझ प्रभावकारी बनाएको जनाएको छ। साथै, अनलाइन सट्टेबाजी वा अभौतिक मुद्रा कारोबारजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन र यस्ता गतिविधिबारे जानकारी भए प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

शेयर गर्नुहोस :

0
Shares