मुख्य समाचार

सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ

सम्पत्ति शुद्धीकरणको मुद्दामा चक्रे मिलनलाई सफाइ


काठमाडौं । मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

बिहीबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको सफाइको फैसलालाई ८ वर्षपछि सदर गरेको छ ।

विशेष अदालतको फैसला बदरको माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सीआईबीको अनुसन्धानको आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अवैध गतिविधिबाट सम्पत्ति आर्जन, धम्की दिएर रकम असुली तथा उक्त सम्पत्तिलाई वैधानिक देखाउन गुरुङलगायतले विभिन्न क्षेत्रमा लगानी गरेको अभियोग थियो ।
अभियोगपत्रमा गुरुङले करिब ८ करोड रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो । काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको विभागको दाबी थियो ।

यसै मुद्दाका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) ले भने २०७४ माघ १० मै सफाइ पाइसकेका छन् । अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीको मुद्दा विचाराधीन अवस्थामै छ ।

शेयर गर्नुहोस :

0
Shares