Banner news

बिर्तामोडमा ह्वाइटहाउस कलेजद्वारा ‘रन फेस्ट’ र राष्ट्रिय ‘ह्याकाथन’ प्रतियोगिता आयोजना

बिर्तामोडमा ह्वाइटहाउस कलेजद्वारा ‘रन फेस्ट’ र राष्ट्रिय ‘ह्याकाथन’ प्रतियोगिता आयोजना


बिर्तामोड । ह्वाइटहाउस एजुकेसन फाउण्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राखेर ‘रन फेस्ट’ र राष्ट्रियस्तरको ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ।

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) र ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन सुरुवातसँगै कलेजले यी दुई कार्यक्रम सञ्चालन गर्न लागेको हो।

आयोजक कलेजले  पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका विषयमा औपचारिक जानकारी गराएको छ। पत्रकार सम्मेलनमा बोल्दै ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले विगत तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षा प्रवाह गर्दै आएको संस्थाले पूर्वी नेपालमा पनि उच्च शिक्षाको नयाँ अध्याय सुरु गरेको बताउनुभयो।

उहाँका अनुसार विद्यार्थीलाई डिग्रीसँगै व्यावहारिक सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता विषयमा सक्षम बनाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्यका साथ बिर्तामोडमा कलेज सञ्चालनमा ल्याइएको हो।

स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ शनिबार बिहान ५:३० बजे ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ आयोजना गर्न लागिएको छ। रन फेस्टका संयोजक तथा बिर्तामोड रन क्लबका अध्यक्ष आयुष अग्रवालका अनुसार शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त दौडमा बिर्तामोडबासी, विद्यार्थी, अभिभावक, युवा तथा खेलप्रेमीहरूको बाक्लो सहभागिता रहनेछ।

त्यस्तै, कलेज परिसरमा विगत तीन दिनदेखि सञ्चालन भइरहेको राष्ट्रियस्तरको ‘ह्याकाथन’ प्रतियोगितामा देशभरबाट १४० भन्दा बढी विद्यार्थीहरू सहभागी भइरहेको कलेजका प्रिन्सिपल रञ्जित साहले जानकारी दिनुभयो।

यस प्रतियोगितामा उत्कृष्ट ठहरिने प्रथम टोलीलाई ५० हजार रुपैयाँ र द्वितीय टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी सबै टोलीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइनेछ।

साथै, ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीहरूलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीआइटी तथा बी.टेक इन एड (आइटी) कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ।

शेयर गर्नुहोस :

135
Shares