बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवसायी र उपभोक्ता दुवैलाई ग्यासको स्टक नगर्न आग्रह गरेका छन् । दुवै तर्फबाट ग्यास स्टक भएमा बजारमा थप असहज हुने बताए ।
इजसालसित कुरा गर्दै प्रजिअ गेलालले बजारमा व्यवसायीहरुले उपभोक्ताको आँखा छलेर स्टक गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले उद्योगबाट आएको भरि सिलिण्डर तत्कालै उपभोक्तासम्म पुराउन सूझाव दिए । उनले थपे – उपभोक्ताले पनि आवश्यकताभन्दा धेरै ग्यास घरमा राख्न हुदैन । उपभोक्ताले धेरै ग्यास घरमा राख्नुभयो भने पनि समस्या हुन्छ ।

झापासहित देशभर ग्यासको हाहाकार भइरहेको बेला प्रजिअ गेलालले विरामी, वृद्धवृद्धा र विद्यार्थीलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले बजारमा भइरहेको ग्यास अभाव बारे उद्योगीहरुसँग छलफल गरेर वर्तमान समस्याबारे जानकारी लिएको बताए । छलफलमा ग्यास उद्योगीहरुले बुलेटमा ग्यास आयात हुनासाथ उपभोक्तामा पठाएको जानकारी दिए । उनीहरुले उद्योगका तर्फबाट ग्यास स्टक गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका थिए ।
पराजुली ग्यासका सञ्चालक आदित्य पराजुलीले अत्याधिक ग्यास स्टक गरेका कारण समस्या भइरहेको जानकारी दिए । उनका अनुसार ‘ओभर स्टकिङ’ नगर्ने हो भने केही समयमै ग्यासको समस्या समाधान हुन्छ । उनले नाकाबाट धमाधम ग्यास बुलेट आइरहेको बताए । जति आउनुपर्ने हो आउन थालिसक्यो, उनले भने – ४ महिनामा १ महिना बराबरको सटेज भयो । आधा सिलिण्डर वितरणका कारण समस्या आएको उनको धारणा छ । उपभोक्ताले आवश्यकताभन्दा धेरै ग्यास नराख्ने हो भने दुई सातामा समस्या समाधान हुने उनले बताए ।
झापामा मेची, पराजुली, पाथीभरा र कनकाई ग्यास उद्योग सञ्चालनमा छन् । जिल्लामा कोशी,प्रिमा, रिजाल,त्रिशक्ति र सुविधा ग्यास समेत आउने गरेको छ ।
उपभोक्ता दिपेन सिटौलाले तीन पटकसम्म ग्यासका लागि पसल पुग्दा पनि ग्यास नपाएको प्रतिक्रिया दिएका छन् । उनले पैसा हुँदा पनि ग्यास नपाएकोमा आक्रोस व्यक्त गर्दै भने – ग्यासको लागि कसलाई सोर्स लगाउनुपर्ने हो ?
व्यवसायीहरुले नाम टिपाएका उपभोक्ताहरुलाई मात्रै ग्यास दिने भन्दै अन्य उपभोक्ताहरुलाई खाली हात फर्काउने काम गरिरहेका छन् ।







प्रतिक्रिया