Banner news

अराजकतामा मलजल होइन, प्रतिवादको खाँचो

अराजकतामा मलजल होइन, प्रतिवादको खाँचो


प्रदीप परियार

दिन प्रतिदिन नेपाली समाजमा अराजकता र हिंसाजन्य घटना भइरहेका छन् । विगतमा पनि नभएको होइनन् । विगतमा भइरहेका अराजकता र हिंसाजन्य घटनाहरु स्वतः कमकम हुदै जानुपर्नेमा झनझन बढ्दै गइरहेको छ । नेपाली समाजको सुन्दर पक्ष भनेको सामाजिक सद्भाव र एकता थियो । म थियो नै भन्छु, किनभने आजको समाज अब हिजोको जस्तो रहनु भएन । साक्षरताको दर वृद्धि भएपछि अराजकता र हिंसा कम हुनुपर्ने हो । तर, अझै कम हुन सकिरहेको छैन । यसको मुख्य कारण भनेको पनि यहि समाज हो । अहिले समाजले अराजकता र हिंसा गर्नेहरुको खुलेयाम मलजल गरिरहेको छ । अर्थाथ, अराजकता र हिंसाको विरोध गर्न सकिरहेको छैन ।

यसको एउटा उदाहरण कालिकोटको पताँला अस्पतालमा भएको घटनालाई लिन सकिन्छ । दिउँसो अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि आक्रमण गर्नेहरुले राती अस्पतालमा आक्रमण गरे । शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भयो ।

सावैजनिक भएका समाचारमा उल्लेख भए अनुसार राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका थिए । बमले अस्पतालमा कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरे । बमले अस्पतालमा तोडफोड समेत गरे । पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो ।
आक्रमणको कारण थियो ‘वाइफाई’ ।

स्थानीय मैना बमका छोराहरु दैनिकजसो अस्पतालमा बसेर मोवाइलमा गेम खेल्ने गर्दा रहेछन् । शुक्रवार पनि मैनाका १४, १५ वर्षका दुई छोराहरू अस्पतालको ओपीडी अगाडि बसेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । अस्पताल नजिकै घर भएकाले उनीहरू वाईफाई चलाउन अस्पताल आइरहने गर्छन् । अस्पताल भनेको विरामीको उपचार गर्ने ठाउँ हो । जहाँ शान्त वातावरणको खाँचो पर्छ ।

सोही अनुसार गेम खेल्न डा.अली र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन भनेका रहेछन् । त्यसो भनेपछि उनीहरू ‘यहीँ बसेर चलाउँछौँ कसले के गर्छ ?’ भनेर जङ्गिए । त्यसपछि सुरक्षा गार्डले बाहिर निकाल्न खोज्दा उनीहरूसहित आमा मैना बम र अन्यले समेत आक्रमण गरेको समाचार सार्वजनिक भएको छ ।

अस्पताल राज्यको सम्पत्ति हो । आम नागरिकले स्वास्थ्य उपचार पाउने ठाउँ हो । नागरिकको उपचारका लागि देशका विभिन्न भागबाट डाक्टर, नर्स त्यहाँ पुगेका छन् । त्यसै पनि दुर्गम जिल्लाहरुमा डाक्टर, नर्स पठाउन सरकारलाई गाह्रो छ । नागरिकको स्वास्थ्य उपचारमा खटिनेहरुको सम्मान गर्नुपर्नेमा आक्रमणमा उत्रिने समाजप्रति विरक्त लागेर आउँछ । एउटा परिवारले आक्रमण गर्छ, सिंगो समाजलाई किन दोष भन्ने लाग्न सक्छ । यो एउटा परिवार पनि हाम्रै समाजको एउटा विम्ब हो । यस्तै, परिवारले समाज बनेको हुन्छ ।

कालिकोटको घटना एउटा प्रतिनिधि घटना हो । त्यहाँ छोराहरुलाई गेम नखेल्न भन्नुपर्ने थियो । छोराहरुलाई गेमको बदलामा सिर्जनशिल काममा लगाउनुपर्ने हो । तर, उल्टै डाक्टर, नर्समाथि आक्रमण गर्नु दुखद् छ । मैले अनलाईन खवरमा समाचार हेरेर यो विचार तयार गरेको हो, समाचारभन्दा अन्य केही विवाद भए पनि आक्रमण गर्ने विषयलाई स्वीकार गर्न सकिन्न । कानुनलाई हातमा लिने जोसुकै होस् त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

हाम्रो समाजले खुलेर गलत गतिविधिको प्रतिवाद गर्नैपर्छ । गलत गर्नेहरुको मनोवल बढाउन हुदैन । अस्पतालमा बसेर गेम खेल्दा के भयो र ? डाक्टर र नर्सलाई के अप्ठ्यारो भयो र ? भन्ने तर्क गर्नु भनेको आक्रमण गर्नेहरुको मलजल हो । गेम खेल्नेहरुको के गल्ती थियो र ? डाक्टर नर्सले केही नभन्या भए आक्रमण हुने थिएन भन्ने मानसिकताले अराजकता र हिंसाको मलजल गर्छ ।

अराजकता र हिंसा मच्चाउनेहरुलाई भाइरल हुन वा बौद्धिकताको नाममा देखिएका पात्रहरुले अप्रत्यक्ष रुपमा मलजल गरिरहेका हुन्छन् । त्यसरी समाजलाई भड्काउने कार्यमा कसैले पनि लाग्न हुदैन । गलतका विरुद्ध ठिंग उभिनैपर्छ । गलतका विरुद्ध सज्जनहरुले नबोल्ने हो भने खरावहरुको आवाज बलियो हुन सक्छ । त्यसैले कालिकोटको पताँला अस्पतालमा भएको अराजकताको खुलेर विरोध गरौं । आक्रमण गर्नेहरुलाई कानुनी कारबाहीका लागि दवाव सिर्जना गरौं ।
एक पटक आँखा बन्द गरेर साचौं , डाक्टर नर्समाथि आक्रमण गर्नु ठिक हो ? किन हामी त्यस्ता अराजकताका विरुद्ध प्रतिवाद गर्न सक्दैनौं । अराजकताको अन्त्य गर्न प्रतिवाद गर्नैपर्छ । होइन भने भविष्यमा हरेक डाक्टर र नर्समाथि आक्रमण बढेर जानेछ । उनीहरुको सुरक्षाका लागि नागरिकको भूमिका आवश्य छ ।

हामीले कस्तो समाज बनाउदै जाने हो त्यो पनि हाम्रै भूमिका निर्भर छ । यसैले अराजकता र हिंसालाई हरेकले निस्तेज गर्दै सामाजिक एकता र सद्भापूर्ण समाज निर्माणमा योगदान गरौं । अरु कसैले समाज बनाइदिने होइन, हामी आफैले बनाउने हो । हरेक व्यक्ति, परिवार र समाज ठिक भएमा मात्रै राष्ट्र ठिक हुने हो । अहिलेसम्म जसरी गलतका पक्षमा मलजल भए, त्यहाँबाट बाहिर निस्कनैपर्छ । त्यसका लागि समाजप्रतिको दृष्टिकोण सकारात्मक चाहिन्छ ।

हरेक घटना, मुद्धामा स्वार्थको रोटी सेक्नेहरुले समाजलाई सधैं अशान्तिको बाटोमा लैजाने प्रयास गरिरहेका हुन्छन् । त्यसलाई रोक्न सज्जनहरुको सत्य बोल्नैपर्छ । अराजकता र हिंसाका विरुद्ध बोल्नैपर्छ ।

शेयर गर्नुहोस :

0
Shares