झापा, २३ साउन : बिर्तामोडमा तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ आयोजना हुने भएको छ। बडी ग्यारेजको आयोजनामा आगामी असोज २० र २१ गते बिर्तामोडमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएकोमा यसपटक प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको हो। आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजी तथा ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइनेछ। महिलातर्फ भने खुला प्रतिस्पर्धा हुने जनाइएको छ।
प्रतियोगिताको समग्र विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। अघिल्लो संस्करणमा समग्र विजेताले ३ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाएका थिए। यसपटक दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौँले ७५ हजार र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको महिला प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
हरेक तौल समूहमा दोस्रो हुने खेलाडीलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। बाँकी तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडीको सहभागिता रहनेछ। आयोजकले विदेशबाट दुई जना खेलाडीसमेत सहभागी गराउने अपेक्षा गरेको छ। प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यसअघि तेस्रो संस्करणको प्रतियोगिता २०८२ साल भदौ २७ र २८ गते आयोजना गर्ने तयारी गरिएको थियो। तर जेनजी आन्दोलनका कारण स्थगित भएको आयोजकले जनाएको छ।
प्रतियोगिताको दोस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ उपाधि दिलीपकुमार चौधरीले जितेका थिए। उनी डिएनपी फिटनेस गाइडबाट ६५ केजी तौल समूहमा सहभागी भएका थिए।
शारीरिक सुगठन खेलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष पदम श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराई, संयोजक राम दाहालले प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
प्रतियोगिताका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष अभिषेक गहतराज, सचिव हिमाल खरेल, कोषाध्यक्ष सारदा दाहाल लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया