Banner news

झापाका साढे २४ हजार चालकलाई कारबाही

झापाका साढे २४ हजार चालकलाई कारबाही


बिर्तामोड । झापामा एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गर्ने २४ हजार ६८० चालक कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२-८३ मा विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा सबैभन्दा धेरै ट्रक चालक छन् । एक वर्षमा ९ हजार १६७ ट्रक चालक कारबाहीमा परेका छन् । त्यस्तै ६ हजार ४५४ कार तथा जीप चालक, ५ हजार ६०२ मोटरसाइकल चालक र २ हजार ४६१ टेम्पो, अटो तथा सिटी चालक कारबाहीमा परेका छन् ।

यसैगरी ५२१ बस चालक, ८४ टिपर चालक र ३९३ ट्र्याक्टर चालकलाई पनि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

उनका अनुसार कारबाहीमा परेका चालकलाई कसुरको प्रकृतिअनुसार सचेत गराउने तथा जरिवाना गर्ने गरिएको छ । कतिपय चालक जरिवाना तिरेपछि पनि पटक–पटक नियम उल्लङ्घन गर्दै आएका कारण दोहो¥याएर कारबाहीमा परेका छन् ।

सवारी नियम उल्लङ्घन गर्ने चालक तथा सवारी साधनमाथि गरिएको कारबाहीबाट ट्राफिक प्रहरीले एक वर्षमा २ करोड ४३ लाख ७४ हजार ३४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

दुर्घटनामा ७७ जनाको मृत्यु
झापामा एक वर्षको अवधिमा २ हजार १९७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ७७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । एक वर्षमा १ हजार ३३५ मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, १९० कार तथा जीप, २०४ टेम्पो, ६९ बस, ४५ ट्रक र ६८ ट्र्याक्टर दुर्घटनामा परेका छन् । दुर्घटनामा ५९ पुरुष, १३ महिला र ५ बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राईले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा १११ जना गम्भीर घाइते भएका छन् भने २ हजार ४६४ जना सामान्य घाइते भएका छन् । दुर्घटनाको संख्या र मानवीय क्षति न्यूनीकरण गर्न ट्राफिक प्रहरीले नियमित चेकजाँच, चालक सचेतना तथा सवारी नियम कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares