बिर्तामोड । झापा पूर्वी नेपालको मात्रै नभई दक्षिण एसियाकै महत्वपूर्ण नेत्र उपचार तथा नेत्र पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको एक अनुसन्धानले देखाएको छ ।
त्रिदेव बहुमुखी क्याम्पसकी सहप्राध्यापक सावित्रा दाहाल भट्टराईले गरेको अनुसन्धानअनुसार झापाका प्रमुख पाँच नेत्र अस्पतालमा आउने बिरामीमध्ये ठूलो हिस्सा भारतलगायतका विदेशी नागरिक रहेका छन् ।
मेची, बिर्तामोड, दृष्टि, विराटज्योति र काँकडभिट्टा आई केयर सेन्टरको अध्ययनमा दैनिक औसत १ हजार २ सय ८५ बिरामी आउने र त्यसमध्ये करिब ६ सय ४३ विदेशी बिरामी रहेको उल्लेख छ ।
अनुसन्धानले नेत्र उपचारका लागि आउने विदेशीबाट झापामा वार्षिक करिब २ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिने अनुमान गरेको छ ।

यसबाट अस्पतालसँगै होटल, यातायात, औषधि तथा चश्मा व्यवसायमा समेत आर्थिक गतिविधि बढेको अध्ययनको निष्कर्ष छ । अनुसन्धानअनुसार झापाको नेत्र उपचार क्षेत्रले प्रत्यक्ष करिब ६ सय र अप्रत्यक्षरूपमा एकहजार भन्दाबढी रोजगारी सिर्जना गरेको छ ।
भारतसँगको खुला सीमा तथा बंगलादेश र भुटानसँगको निकटताले झापालाई स्वास्थ्य पर्यटनका लागि रणनीतिक गन्तव्य बनाएको अध्ययनले औंल्याएको छ । सहप्राध्यापक दाहालको अनुसन्धानले झापामा अप्टोमेट्री, नेत्र नर्सिङ, भिजन साइन्सलगायतका विषयमा शैक्षिक संस्था स्थापना गर्नुपर्ने आवश्यकता र सम्भावना समेत देखाएको छ । तर, आधुनिक पूर्वाधारको कमी, अन्तर्राष्ट्रिय प्रचार–प्रसारको अभाव, नीतिगत अस्पष्टता र बिरामीमैत्री सेवामा देखिएका कमजोरीलाई नेत्र पर्यटनका प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।
अनुसन्धानले झापा भिजन अवधारणामार्फत उपचारसँगै पर्यटन जोडेर झापालाई अन्तर्राष्ट्रिय नेत्र उपचार गन्तव्यका रूपमा विकास गर्न सुझाव दिएको छ ।
अवधारणामाथि बृहत् छलफल
झापालाई नेत्र पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने आधार र सम्भावनाबारे बिर्तामोडमा बृहत् छलफल गरिएको छ ।
नारी संसार गृह झापाको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाले झापामा रहेका स्तरीय आँखा अस्पताल, विदेशी बिरामीको बढ्दो आगमन र भारत, बंगलादेश तथा भुटानसँगको भौगोलिक निकटतालाई नेत्र पर्यटन विकासको बलियो आधारका रूपमा प्रस्तुत गरे ।
कार्यक्रममा सहप्राध्यापक दाहालले झापामा नेत्र पर्यटन र नेत्र शिक्षाको सम्भावनाबारे आफ्नो अनुसन्धान प्रस्तुत गरेकी थिइन् । उनको अनुसन्धानले झापालाई नेत्र उपचारसँगै पर्यटन र शैक्षिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने देखाएको छ ।
कार्यक्रममा डा. राजेन्द्र अधिकारी, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारामणि सापकोटा, मेची आँखा अस्पतालका सञ्चालक सदस्य गणेश पोखरेल, बिर्तामोड आँखा अस्पतालका चिकित्सक डा. विनोद दाहाल तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, चलचित्र पत्रकार संघका अध्यक्ष एकराज प्रधान लगायतले अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक पहल, पूर्वाधार र सरोकारवालाबिचको सहकार्यबारे धारणा राखेका थिए ।
नारी संसार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न आँखा अस्पतालका चिकित्सक, कलेजका प्राध्यापक तथा सञ्चारकर्मीको सहभागिता थियो । छलफलबाट प्राप्त सुझावको सारांश पत्रकार ज्ञानेन्द्र निरौलाले प्रस्तुत गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयका आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक अर्जुन कुमार बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण नारी संसार गृहकी सचिव दीपा पोखरेल र पूर्वसचिव मायामितु न्यौपानेले गरेका थिए भने उपाध्यक्ष ज्योस्ना श्रेष्ठले स्वागत गरेकी थिइन् ।







प्रतिक्रिया