विर्तामोड २४ साउन । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहद एकता कायम गर्ने अभियानकै रुपमा राष्ट्रिय भेला आयोजना गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले भेलामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय राजनीति, कुटनीतिक सम्बन्ध, पार्टीभित्रको अन्योल, स्थानीय तह निर्वाचन लगायतका विषयमा नीतिगत छलफल हुने बताउनुभयो ।

नेपाली कांग्रेसभित्रको विवाद र न्यायिक निरुपणका सन्दर्भमा बोल्दै नेता सिटौलाले विपक्षीलाई सुनुवाईको मौका पनि नदिई निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले पनि समय नभएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाईको अवसर नदिई निर्णय गरेपछि मुद्धा पुनरावलोकनका लागि निवेदन दिइएको बताउनुभयो ।
‘प्रतिवादीलाई सुनुवाईको मौका नदिई गरेको निर्णय बदर हुन्छ’–उहाँले भन्नुभयो–‘निर्वाचन आयोग र सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाइको मौका समेत नदिई फैसला गर्नु गलत हो ।’
‘कार्यकर्ता लखेटेर र गलहत्याएर राजनीति हुँदैन’–सिटौलाले भने–‘एकलौटी गर्न खोजे पार्टीभित्र थप दुर्गती निम्तन्छ ।’ भदौ २३ र २४ को आन्दोलनपछि पार्टीलाई थप मजबुद र एकीकृत गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोज्नु वर्तमान नेतृत्वको गलत कदम भएको उहाँको टिप्पणी थियो ।
‘भदौ २२ सम्म शेरबहादुरको काखमा बस्ने, २५ गते सबै नष्ट गरो भन्न मिल्छ’–नेता सिटौलाले भन्नुभयो–‘देउवासँग मेरा सयौं असहमति छन् तर राजनीति भनेको आपत पर्दा सहयोग गर्ने हाम्रो संस्कार हो सहयोग गर्ने बेलामा पार्टीबाट गलहत्याउने काम ठिक भएन ।’
को विशेष महाधिवेशनमा गयो ? को राष्ट्रिय भेलामा गयो ? कसले सदस्यता अध्यावधिक ग¥यो वा गरेन भन्ने विषय छोडेर पार्टीभित्र बृहद एकता खोज्न कार्यकर्तालाई आह्वान गर्दै नेता सिटौलाले एकतामै शक्ति हुने दोहो¥याउनुभयो । पहिला नै नवीकरण गरिसकेको सदस्यता पुनः अध्यावधिकका नाममा तहगत संगठनका सभापतिहरुमाथि वर्तमान नेतृत्वले कतिपय वडा सभापतिलाई कारबाही गर्नु स्वेच्छाचारी प्रवृत्ति भएको उहाँको टिप्पणी थियो ।
अर्को फरक प्रसङ्गमा आफ्ना धारणा राख्दै नेता सिटौलाले वर्तमान प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमा प्रधानमन्त्री संसदप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ’–नेता सिटौलाले भन्नुभयो–‘प्रधानमन्त्रीले पर्दापछाडिबाट शासन गर्न खोजेको देखिन्छ । स्टाटसले मात्रै देश चल्दैन ।’
भदौ २३ र २४ का विषयमा मानव अधिकार आयोग र सरकारद्वारा गठित आयोगको प्रतिवेदन बाझिएको बताउँदै नेता सिटौलाले यसको बृहद अध्ययन र अनुसन्धान जरुरी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनको पक्षमा एकलौटी निर्णय गरेपछि पुनः कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
मदन बुढाथोकी, भगिरथ पोद्धार लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा डा. खगेन्द्रपाण्डव अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।







प्रतिक्रिया