खेल

करिअरकै कठिन मोडमा नेयमार

करिअरकै कठिन मोडमा नेयमार


काठमाडौं, २४ साउन । सन् २०२६ को विश्वकपको ‘राउन्ड अफ १६’ मा नर्वेसँग ब्राजिलको निराशाजनक हार पछि नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त भएको स्वीकार गरेका थिए।

आफ्नै बुबाको आग्रहका बाबजुद उनले गत हप्ता पनि सोही अडान दोहोर्‍याएका छन । ‘मैले त्यहाँ धेरै कुरा अनुभव गरें, आफ्नो रगत र जीवन नै अर्पण गरें, र सधैं पहेंलो जर्सी’ (ब्राजिलको राष्ट्रिय टोली) का लागि संघर्ष गरें तर अब मलाई यो जारी राख्ने इच्छा छैन,’ सान्तोसका यी स्टार खेलाडीले पत्रकारहरूलाई भनेका छन् ।

सान्तोसमा उनको सम्झौता सकिए पछि उनी खेलबाट पूर्ण रूपमा संन्यास लिन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ र उनले यस सम्भावनालाई अस्वीकार पनि गरेका छैनन्। ‘मलाई थाहा छैन म कति समयसम्म खेल्नेछु ? म अहिले खेल छोड्नेबारे सोचिरहेको छैन, न त मलाई थाहा छ म कति लामो समयसम्म निरन्तरता दिनेछु,’ नेयमारले गत सोमबार आफ्नो युट्युब च्यानलमार्फत भने।

‘डिसेम्बरसम्म सान्तोससँग मेरो सम्झौता छ। म यसलाई पूरा गर्न चाहन्छु, सान्तोसको जर्सीको सकेसम्म सम्मान गर्न चाहन्छु र त्यसपछि सम्झौता सकिएपछि मात्र यसबारे सोच्नेछु कि म सान्तोसमै बस्छु, छोड्छु, अघि बढ्छु, खेलबाट संन्यास लिन्छु वा निरन्तरता दिन्छु। मलाई साँच्चै थाहा छैन म के गर्नेछु, डिसेम्बर उन अझै लामो समय बाँकी छ, त्यसैले एक पटकमा एउटा पाइला अघि बढाऔं।’

३४ वर्षीय ब्राजिलियन फरवार्डले अगाडी भने, ‘म शारीरिक रूपमा राम्रो महसुस गरिरहेको छु, मैदानमा झन झन राम्रो अनुभव भइरहेको छ। करियरको अन्तिम चरणमा भए पनि म सधैं सुधार गर्न चाहन्छु। अहिलेसम्म जे जति अनुभव गरें, त्यसप्रति म धेरै खुसी छु। मेरो करियरलाई लिएर मसँग कुनै गुनासो छैन।’

गोल डटकमका अनुसार त्यो अन्तिम वाक्य आश्चर्यजनक थियो किनकि आजकल नेयमारले गुनासो मात्र गरिरहेको जस्तो देखिन्छ। उनले विश्व मञ्चमा आफ्नो देशको छवि बिगारेका छन् र सान्तोसको हकमा पनि उस्तै गरिरहेका छन् । रेलिगेसन (तल्लो डिभिजनमा झर्ने) को जोखिमसँग जुधिरहेको सान्तोसलाई उनले सिर्जना गर्ने नकारात्मक चर्चाको कुनै आवश्यकता छैन।

धेरै वर्षदेखि नेयमारको खेलमा कुनै सुधार देखिएको छैन र खराब निर्णय लिने बानीले खेलमा उनको प्रतिष्ठालाई कमजोर बनाएको छ।

मैदानमा ‘जादुमयी खेल प्रदर्शन गर्ने आफ्नो दुर्लभ प्रतिभा’ लाई जसरी उनले खेर फालेका छन्, त्यसलाई हेर्दा नेयमार प्रति दृष्टीकोण यतिखेर परिवर्त भइरहेका छन ।

साउदी अरबको अल हिलालमा निराशाजनक समय बिताए पछि जनवरी २०२५ मा ‘विला बेल्मिरो’ मा आयोजित स्वागत समारोहमा उनलाई भव्य स्वागत गरिएको थियो तर ‘ब्राजिलियन सेरी ए’मा २९ खेल खेल्दा उनले जम्मा १४ गोल र अत्यन्तै कम अर्थात् ४ वटा मात्र ‘असिस्ट’ गर्न सकेका छन्। साथै, चोटपटक र ‘लोड म्यानेजमेन्ट’ अर्थात खेलाडीको कार्यबोझ व्यवस्थापनका कारण उनले विभिन्न प्रतियोगिताहरूमा गरी कुल ३६ खेल गुमाएका छन्।

जुभेन्टस विरुद्धको उत्कृष्ट ह्याट्रिकसहित नेयमारले अन्तिम समयमा देखाएको जादुमयी प्रदर्शन नभएको भए सायद सान्तोस गत सिजन ‘रेलिगेसन’बाट बच्न सक्ने थिएन। तर, बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व सुपरस्टारलाई पुनः अनुबन्ध गरेयता समग्र टोलीको प्रदर्शनमा भने गिरावट आएको देखिन्छ र क्लबका समर्थकहरूसँगको अप्रिय झडपहरू सामान्य घटना बन्न पुगेका छन्। यसपटक सान्तोस त्यति भाग्यमानी नहुन सक्छन् र तनाव फेरि चर्कन सक्छ भन्ने वास्तविक जोखिम छ किनकि उनीहरू हाल सेरी ए तालिकाको १५औँ स्थानमा छन् र गोल अन्तरका कारण मात्र रेलिगेसन क्षेत्रभन्दा माथि छ।

नेयमार अन्ततः सन्तोषजनक स्तरको फिटनेसमा फर्किएका छन् तर सान्तोसले उनलाई अत्यधिक खेलाएर जोखिम मोल्नु हुँदैन । साथै, खेलहरूमा उनको प्रभाव पनि छिटपुट रूपमा मात्र देखिने गरेको छ। प्रायःजसो, नेयमार आफ्नो खेल प्रदर्शन भन्दा पनि अपरिपक्व व्यवहारका कारण चर्चामा आउँछन्, जसले ‘पेइक्से’ लाई अंक तालिकामा माथि उक्लिन आवश्यक पर्ने गम्भीर कार्यबाट ध्यान भड्काउने काम गर्छ।

शेयर गर्नुहोस :

54
Shares