मुख्य समाचार

अनेमसंघको ‘सासु’, संगठन निर्माण तथा सदस्यता विस्तारसम्बन्धी प्रशिक्षण

अनेमसंघको ‘सासु’, संगठन निर्माण तथा सदस्यता विस्तारसम्बन्धी प्रशिक्षण


शिवसताक्षी । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी झापाले आफ्ना सदस्यहरूलाई सामाजिक सुरक्षा, संगठन निर्माण तथा सदस्यता विस्तारसम्बन्धी प्रशिक्षण दिएको छ। आइतबार शिवसताक्षी नगरपालिका–८ स्थित वाटर किङ्गडम पार्कमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सहभागी ६५ जना महिला कार्यकर्तालाई प्रशिक्षण दिइएको हो।

प्रशिक्षणमा सामाजिक सुरक्षा तथा राज्यले नागरिकका लागि उपलब्ध गराउँदै आएका सामाजिक सुरक्षा कार्यक्रम, लक्षित वर्गले पाउने सुविधा, सामाजिक सुरक्षा भत्ताको महत्व र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी गराइएको थियो। ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालगायत लक्षित समुदायले पाउने सामाजिक सुरक्षा सुविधाबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।

त्यस्तै, संगठन निर्माण तथा सुदृढीकरणका विषयमा संगठनको आवश्यकता, उद्देश्य, संरचना, कार्यशैली, नेतृत्व विकास, सामूहिक निर्णय, अनुशासन र जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको थियो। संगठनलाई जनस्तरसम्म विस्तार गर्न महिलाको सक्रिय सहभागिता बढाउने, टोल तथा वडा तहमा संगठन निर्माण गर्ने र नियमित बैठक तथा गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

सदस्यता विस्तारसम्बन्धी प्रशिक्षणमा नयाँ सदस्यलाई संगठनमा आबद्ध गराउने, सदस्यता नवीकरण, सदस्यको अभिलेख व्यवस्थित राख्ने तथा सदस्यलाई संगठनका गतिविधिमा सक्रिय बनाउने विषयमा जानकारी दिइएको थियो। संगठनका उद्देश्य तथा कार्यक्रमलाई समुदायस्तरसम्म पुर्‍याउँदै बढीभन्दा बढी महिलालाई संगठित गर्नुपर्नेमा प्रशिक्षणमा जोड दिइएको थियो।

प्रशिक्षणमा सामाजिक सुरक्षा विषयमा अनेमसंघ कोशी प्रदेश कमिटी सचिव अधिवक्ता हेमकला कट्टेल, संगठन निर्माणसम्बन्धी विषयमा अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले र सदस्यतासम्बन्धी विषयमा अनेमसंघ कोशी प्रदेश अध्यक्ष सृजना राईले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, नेकपा एमाले केन्द्रीय अनुसन्धान आयोग सदस्य लीला कट्टेल कार्की, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिव निशा लिम्बु तथा नेकपा एमाले कोशी प्रदेश सदस्य चन्द्रकुमार शेर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा नेकपा एमाले कोशी प्रदेश कमिटीका प्रदेश माननीय राधाकृष्ण खनाललगायत अनेमसंघ कोशी प्रदेश सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रशिक्षणले महिला कार्यकर्तालाई सामाजिक सुरक्षा, संगठन सञ्चालन र सदस्यता विस्तारका विषयमा थप जानकारी प्रदान गर्नुका साथै संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन अनेमसंघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईंले गर्नुभएको थियो।

शेयर गर्नुहोस :

108
Shares