Banner news

चिच्याई–चिच्याई बजेट माग्दा पनि नपाएको आदिवासी जनजातिको गुनासो

चिच्याई–चिच्याई बजेट माग्दा पनि नपाएको आदिवासी जनजातिको गुनासो


दमक । झापाको दमक क्षेत्रका आदिवासी जनजातिहरूले विविध सांस्कृतिक कार्यक्रम तथा जातीय झाँकीसहित विश्व आदिवासी दिवस भव्यताका साथ मनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को आयोजनामा दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय सरकारले लक्षित वर्गका लागि बजेट विनियोजन गर्न उपेक्षा गरेको भन्दै कडा आक्रोश र गुनासो व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै जनजाति महासंघ दमकका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मोहन धिमालले सरकारले कागजी रूपमा आदिवासी जनजाति र लक्षित वर्गका लागि १५ प्रतिशत बजेट व्यवस्था गरे पनि व्यवहारिक रूपमा काम हुन नसकेको बताए । आदिवासी दिवस मनाउनसमेत ऋण खोज्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै धिमालले नगर प्रमुखसँग चिच्याई–चिच्याई बजेट माग्दा पनि बेवास्ता गरिएको गुनासो गरे । उनले अब नाचगानमा मात्र सिमित नभई शक्ति प्रदर्शनसहित स्थानीय सरकारलाई खबरदारी गर्ने खालका कार्यक्रम ल्याउन महासंघलाई सुझाव दिए ।

त्यस्तै महासंघका अर्का पूर्व अध्यक्ष वासुदेव राईले झापाका अन्य पालिकाले आदिवासी जनजातिका लागि उल्लेख्य बजेट छुट्याए पनि दमक नगरपालिकाले भने लगातार उपेक्षा गर्दै आएको दाबी गरे । कार्यक्रममा प्राज्ञ सुमित्रा बाङ्देल ‘चेली’ ले जनजातिको पहिचान मौलिक भेषभूषामा मात्र सिमित नराखी शिक्षा लगायतका निर्णायक क्षेत्रमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् । महिला महासंघ झापाकी अध्यक्ष हरिदेवी राई र दमक नगर अध्यक्ष मिना गुरुङले पनि बजेट र अधिकारका लागि सबै जनजाति एकजुट भएर स्थानीय सरकारलाई खबरदारी गर्नुपर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख राम थापाले भने आदिवासी जनजातिका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेन्जी आन्दोलनका कारण भएको क्षति र उत्पन्न परिस्थितिले गर्दा सोचे जति सहयोग पु¥याउन नसकिएको स्पष्ट पारे ।

सोही अवसरमा दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले भने लिम्बू भाषा संरक्षणका लागि पृथ्वी माध्यमिक विद्यालय दमक–७ मा अध्यापन गराउन वडाबाट वार्षिक ४ लाख रुपैयाँ बजेट उपलब्ध गराउँदै आएको जानकारी दिए । महासंघ दमक नगर अध्यक्ष अम्बर बहादुर कुमालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस :

27
Shares