Banner news

दमक ३ लाई बालमैत्री वडा घोषणा गर्न अनुगमन टोलीसमक्ष माग

दमक ३ लाई बालमैत्री वडा घोषणा गर्न अनुगमन टोलीसमक्ष माग


दमक । झापाको दमक नगरपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति झापाको अनुगमन टोली समक्ष दमक–३ ले बालमैत्री स्थानीय शासनका सूचकहरूमा ९१ दशमलव २ प्रतिशत अंक प्राप्त गरेको दाबी गर्दै औपचारिक घोषणाका लागि सिफारिस गर्न माग गरेको छ ।

वडा कार्यालयमा आयोजित बालमैत्री उन्मुख वडाको सूचक प्राप्तिको अनुगमनपूर्व आयोजित कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास, संस्थागत विकास र बाल सहभागिता जस्ता मुख्य सूचकहरूमा वडाले उत्साहजनक उपलब्धि हासिल गरेको प्रस्तुत गरियो । कार्यक्रममा वडाले घोषणाका लागि गरेका पूर्वतयारी, बाल सञ्जाल गठन, दौतरी शिक्षा, बजेट तथा योजना निर्माणमा बालबालिकाको सहभागिता, र ‘बालबालिकासँग वडा अध्यक्ष’ जस्ता गतिविधिहरू प्रविधिको प्रयोग गरी अनुगमन टोलीमाझ प्रदर्शन गरिएको थियो ।

अनुगमन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति झापाका प्रमुखले बालमैत्री घोषणा सिंगो समाज र सरोकारवालाहरूको साझा विषय भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको टोलीले स्थलगत अवलोकन गरेपछि बस्ने बैठकले बालमैत्री वडा घोषणाको औपचारिक निर्णय दिने जानकारी गराइएको छ । कार्यक्रमका अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बालबालिकाको उज्ज्वल भविष्य र समग्र विकासका लागि स्थानीय सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमपश्चात् अनुगमन टोलीले दमक–३ मा रहेका जनज्योति आधारभूत विद्यालय, चुलाचुली आधारभूत विद्यालयका साथै दोघरे र आमचोकमा रहेका स्वास्थ्य केन्द्रहरूको प्रत्यक्ष निरीक्षण गरेको छ । अवलोकनका क्रममा टोलीले गर्भवती जाँच, स्वास्थ्य सेवाको अवस्था, सरसफाइ सुविधा र सेवाग्राहीको विवरण संकलनबारे विस्तृत जानकारी लिएको थियो। अनुगमनका क्रममा उठेका जिज्ञासाहरूमाथि स्थानीय जनप्रतिनिधि र बाल सञ्जालका प्रतिनिधिहरूले स्पष्ट पारेका थिए ।

शेयर गर्नुहोस :

0
Shares