अन्तर्वार्ता

कोलम्बियामा ७.४ को शक्तिशाली भुकम्पः १११ जनाको मृत्यु पुष्टी, हजारौं घाइते

कोलम्बियामा ७.४ को शक्तिशाली भुकम्पः १११ जनाको मृत्यु पुष्टी, हजारौं घाइते


बोगोटा, २६ साउन । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार  हालसम्म १११ जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।

सोमबार स्थानीय समयअनुसार बिहान करिब ७ः०० बजे भूकम्प गएको हो। भूकम्प पछि त्रसित स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किए भने कैयौं भवनहरू खाली गराइएका छन्। यस घटनामा सयौं मानिस घाइते भएको अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा पर्ने पाल्मार क्षेत्रमा रहेको थियो। यो भूकम्प विगत एक दशकमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। भूकम्पको धक्का छिमेकी मुलुकहरू इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो। केही समय अघि छिमेकी मुलुक भेनुजुएलामा पनि शक्तिशाली भुकम्प जाँदा करिब ८ हजारले ज्यान गुमाएका थिए ।

कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्दो डे ला एस्प्रिएलाले सपथ लिएको सहर कालीसहित परेइरा र मानिजालेस सहरहरूमा भवनहरू भत्किएका छन । कालीका मेयर जर्ज एडुआर्डो रोजासका अनुसार यी सहरहरूमा एउटा गिर्जाघरको टावर र अन्य दर्जनौं भवनहरू पूर्ण वा आंशिक रूपमा भत्किएका छन्।

हताहतसम्बन्धी प्रारम्भिक विवरणमा परेइरामा १८ जना, मानिजालेसमा थप ३ जनाको मृत्यु भएको जनाएका छन् भने कालीका धेरै भवनहरूको भग्नावशेषमुनि अज्ञात संख्यामा मानिसहरू फसेको अनुमान गरिएको छ। भ्याले डेल काउका प्रान्तमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

राष्ट्रपति एस्प्रिएला आपतकालीन प्रतिकार्यको नेतृत्व गर्न काली सहरवाट राजधानी बाेगोटा आइपुगेका छन्। उनले तीन दिन अघि मात्रै राष्ट्रपतिमा निर्वाचित भए पछि पद तथा गोपनियताको सपथ लिएका थिए । उनले यो सपथ राजधानी सहर भन्दा टाढाको ‘साल्सा नृत्यको राजधानी’ मानिने दक्षिण पश्चिमी सहर कालीस्थित एक विश्वविद्यालयमा सम्पन्न भएको थियो, भुकम्प गए पछि उनी राजधानी बोगोटा फर्केका हुन् ।

राजधानी फर्केलगत्तै उनी आफ्ना उपराष्ट्रपति, मन्त्रीहरू र सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरूसँग राष्ट्रिय विपद् जोखिम व्यवस्थापन एकाइको राष्ट्रिय संकट कक्षमा रहेर राहत र उद्दारमा निर्देशन दिएका थिए । उनले एक्समा लेखे, ‘तपाईंहरू एक्लो हुनुहुन्न, सुरक्षित रहनु होला, उद्दार टोलीलाई सहयोग गर्नुहोला।’

कोलम्बियाको राजधानीमा कुनै गम्भीर संरचनात्मक क्षति नभएको त्यहाँका मेयरले बताएका छन्। बोगोटाका मेयर कार्लोस फर्नान्डो गालानका अनुसार राजधानीको स्रोत साधन तथा क्षमता देश र भूकम्पबाट सबैभन्दा बढी प्रभावित सहरहरूको सेवामा समर्पित रहेको जनाएका छन ।

उता, छिमेकी मुलुक इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ अजिनले कोलम्बियाको उद्धार तथा राहत कार्यमा सघाउन आफ्ना उद्धार टोलीहरू परिचालन गर्ने प्रतिबद्धता जनाएका छन । ‘कोलम्बिया र आज बिहानको भूकम्पबाट प्रभावित परिवारहरूप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ,’ अजिनले एक्समा लेखेका छन, ‘हामी हाम्रो उद्दार टोली तपाईंहरूको सेवामा उपलब्ध गराउँछौं, जसमा पहिलो चरणमा ४७ जना उद्धारकर्मी, विशेष तालिमप्राप्त कुकुरहरू र ७ दिनसम्म निरन्तर काम गर्न सक्ने क्षमतासहितका उपकरणहरू समावेश छन्।’

साथै, अमेरिकी विदेश मन्त्री मार्को रुबियोका अनुसार कोलम्बियामा गएको भूकम्पको अमेरिकी सरकारले नजिकबाट निगरानी गरिरहेको छ र सहयोग गर्न तयारी अवस्थामा रहेको जनाएका छन् ।

उनले कोलम्बियामा रहेका अमेरिकी नागरिकहरूलाई अमेरिकी विदेश मन्त्रालयमा अनलाइनमार्फत आफ्नो उपस्थिति दर्ता गर्न र पछिल्लो जानकारीका लागि आधिकारिक माध्यमहरू पछ्याउन सुझाव दिएका छन्। कोलम्बियाको राष्ट्रपतिको सपथ लगत्तै लागु औषध तस्करीको नियन्त्रणका लागि दुई दिन अघि मात्रै अमेरिकाले १ अर्ब डलर अनुदान दिएको थियो ।

कोलम्बिया विश्वमा भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो। त्यहाँ हरेक वर्ष सानादेखि ठूलासम्म गरी एक हजारभन्दा बढी भूकम्पहरू जाने गर्छन्। कोलम्बियामा बारम्बार भूकम्प जानुको मुख्य कारण यसको भौगोलिक अवस्थिति हो। यो देश ‘रिङ अफ फायर’ भित्र पर्दछ, जुन भूकम्प र ज्वालामुखी गतिविधिका लागि अति संवेदनशील क्षेत्र हो।

यहाँ नाज्का, कोकोस र दक्षिण अमेरिकी प्लेटजस्ता धेरै प्रमुख टेक्टोनिक प्लेटहरू आपसमा ठोक्किन्छन्। यीमध्ये एउटा प्लेट निरन्तर अर्को प्लेटमुनि धसिने गर्छ। यसले निरन्तर भू–गर्भभित्र हलचल पैदा गर्छ, जसका कारण प्रायः शक्तिशाली भूकम्प र ज्वालामुखी विस्फोटहरू हुने गर्छन्।

शेयर गर्नुहोस :

81
Shares