मुख्य समाचार

कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना

कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा एलपी ग्यासको तौलमा अनियमितता भेटिएपछि कोशी ग्यास उद्योग प्रालिलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनमा सहयोग नगरेको आरोपमा विराटनगरस्थित एक व्यापारिक फर्मलाई समेत कारबाही गरिएको छ ।
प्रशासन कार्यालयका अनुसार बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योगमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एउटा सिलिन्डरमा १३.७४५ किलोग्राम मात्र ग्यास रहेको पाइएको थियो ।

बाँकी ६३ वटा सिलिन्डरको औसत तौलसमेत निर्धारित मापदण्डभन्दा कम, १४.१८५ किलोग्राम रहेको अनुगमनबाट खुलेको प्रशासनले जनाएको छ । खाली सिलिन्डरको तौल परीक्षण गर्दा पनि तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिएको उल्लेख गर्दै प्रशासनले यसबाट उपभोक्तालाई तोकिएको परिमाणभन्दा कम ग्यास उपलब्ध गराइएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी, अत्यावश्यक सेवाअन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनको समयमा बन्द अवस्थामा भेटिएकाले उद्योगमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यसैबीच, विराटनगर महानगरपालिका–७ स्थित श्रीकृष्ण ट्रेडर्सलाई अनुगमन टोलीको निरीक्षण तथा जाँचमा आवश्यक सहयोग नगरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवनराज कोइरालाका अनुसार एलपी ग्यासको वितरण प्रणाली व्यवस्थित बनाउँदै उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइएको छ । प्रशासनले आगामी अनुगमनमा समेत उपभोक्ता हित विपरीतका गतिविधि भेटिए कानुन अनुसार कारबाही गरिने जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares