Banner news

नो लाइन, ओन्ली अनलाइन कहाँ पुग्यो ?

नो लाइन, ओन्ली अनलाइन कहाँ पुग्यो ?


काठमाडौं-नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारको  प्रभावकारितामाथि प्रश्न उठाउँदै जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘एक्लोपन’ सम्बन्धी अभिव्यक्तिलाई उल्लेख गर्दै विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद थेबेले सरकारले चुनावअघि गरेका ‘नो लाइन, ओन्ली अनलाइन’ लगायतका वाचा कार्यान्वयन हुन नसकेको आरोप लगाए। घरघरमै राहदानी पुर्‍याउने प्रतिबद्धता गरिए पनि नागरिक अझै मध्यरातदेखि लाइनमा बस्न बाध्य भएको उनको भनाइ थियो। अघिल्लो सरकारले छापेर राखेका १२ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत वितरण गर्न नसकेको र खाना पकाउने ग्यासका लागि समेत नागरिक लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।

प्रधानमन्त्रीको फेसबुक स्टाटसतर्फ संकेत गर्दै सांसद थेबेले भने, ‘प्रधानमन्त्रीज्यू कोविरुद्ध एक्लै लडिरहनुभएको छ, त्यो उहाँलाई नै थाहा होला। तर उहाँको त्यो एक्लोपनमा साथ दिन देश र जनताका निम्ति मेरा केही शर्तहरू छन्।’

युवा सीप विकासमा लगानी बढाउनुपर्ने धारणा राख्दै उनले गत वर्ष नेपालमा भित्रिएको २१ खर्ब रुपैयाँ रेमिट्यान्सको एक प्रतिशत रकम मात्र सीप विकासमा लगानी गर्न सके पनि दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए। ‘२१ खर्बको एक प्रतिशत २१ अर्ब रुपैयाँ हुन्छ। यही रकम युवाको सीप विकासमा खर्च गर्न सकियो भने देशलाई आवश्यक दक्ष जनशक्ति तयार गर्न सकिन्छ,’ उनले भने।

सांसद थेबेले हाल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल’का रूपमा विकास गर्न सरकारसँग माग समेत गरेका छन्।

शेयर गर्नुहोस :

0
Shares