अन्तराष्ट्रिय

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर अस्पताल भर्ना

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर अस्पताल भर्ना


हैदाराबाद, २७ साउन । साउथ इन्डियन मुभीका अभिनेता जुनियर एनटीआरको बुधबार काँधको शल्यक्रिया हुँदैछ।

काँधमा चोट लागेपछि उनी उपचार गराइरहेका थिए र चिकित्सकहरूले उनलाई शल्यक्रियाको सुझाव दिए पछि आज शल्यक्रिया हुन लागेको हो, उनी त्यसका लागि अस्पतालमा भर्ना भएका छन् । यो शल्यक्रिया हैदराबादस्थित किम्स अस्पतालमा गरिनेछ। जुनियर एनटीआरका प्रशंसकहरू उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

जुनियर एनटीआरको टोलीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जुनियर एनटीआरको बुधबार हैदराबादस्थित अस्पतालमा काँधको शल्यक्रिया हुनेछ। काँधको चोटको स्वास्थ्य परीक्षणपछि यो शल्यक्रिया तय गरिएको हो। चिकित्सकहरूको टोली एनटीआरको शीघ्र र सहज स्वास्थ्यलाभका लागि प्रयासरत छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थाबारे जानकारी उपलब्ध गराइनेछ। तपाईंहरूको निरन्तर सहयोगका लागि धन्यवाद।’

उपचारको एक भागका रूपमा जुनियर एनटीआरलाई यो शल्यक्रिया गराउन सुझाव दिइएको छ। शल्यक्रियापछि, उनको स्वास्थ्य लाभको प्रक्रियालाई चिकित्सक टोलीले नजिकबाट निगरानी गर्नेछ। शल्यक्रियापश्चात् उनको स्वास्थ्य र सुधार सम्बन्धी जानकारी उनको कार्यालयले उपलब्ध गराउने छ।

जुनियर एनटीआरको टोलीले यस कठिन समयमा देखाएको चासो, समझदारी र निरन्तर सहयोगका लागि प्रशंसक, शुभचिन्तक तथा सञ्चारमाध्यम प्रति आभार व्यक्त गरेको छ। साथै, उनीहरूले शल्यक्रिया र स्वास्थ्यलाभको अवधिमा उनको गोपनीयताको सम्मान गर्न पनि आग्रह गरेका छन्।

जुनियर एनटीआरको करियरलाई हेर्दा उनले सन् १९९१ मा ‘ब्रह्मर्षि विश्वामित्र’ चलचित्रमा भरतको भूमिका निर्वाह गर्दै बाल कलाकारका रूपमा पदार्पण गरेका थिए। त्यस पछि सन् १९९७ मा उनले ‘रामायणम’ मा रामको भूमिका निभाए। सन् २००१ मा ‘स्टुडेन्ट नम्बर १’ चलचित्रमार्फत उनले मुख्य अभिनेताका रूपमा पदार्पण गरे, जसमा उनले भेनु रेड्डीको पात्र निभाएका थिए।

उनी अब सन् २०२७ मा ‘ड्र्यागन’ चलचित्रमा देखिने छन्। हाल यसको छायाङ्कन भइरहेको छ। यस चलचित्रमा अनिल कपुर, रुक्मिणी वसन्त र बिजु मेननजस्ता कलाकारहरू रहेका छन्। प्रशान्त नीलले यस चलचित्रको निर्देशन गरिरहेका छन् भने रवि बसुर यसका संगीत निर्देशक हुन्।

शेयर गर्नुहोस :

0
Shares