बाह्रदशी

बाह्रदशी मिनी म्याराथनमा बिर्तामोडका शिव कार्की प्रथम

बाह्रदशी मिनी म्याराथनमा बिर्तामोडका शिव कार्की प्रथम


बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाह्रदशीले आयोजना गरेको मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । युवालाई खेलकुदसँग जोड्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा बाह्रदशीको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

बाह्रदशी गाउँपालिका–५ घोडामाराबाट वडा नम्बर ६ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रदशी डाँडासम्म २ दशमलब ५ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा बाह्रदशी गाउँपालिकासहित छिमेकी बिर्तामोड, भद्रपुर, हल्दिबारी, कनकाईलगायतका पालिकाबाट २ सयभन्दा बढी धावक सहभागी भएका थिए ।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका शिव कार्की प्रथम भए । त्यस्तै इन्द्र मगर द्वितीय, सुकदेव टुडू तृतीय, मुक्साम लिम्बू चौथो तथा लक्ष्मण टुडू सान्त्वना स्थानमा रहे । प्रतियोगिताका विजेता तथा उत्कृष्ट धावकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

रास्वपा बाह्रदशी गाउँपालिका सभापति सोमनाथ बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
सभापति बजगाईले पछिल्लो समय युवामा लागुऔषध दुव्र्यसनको जोखिम बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि खेलकुदमार्फत जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

‘युवालाई सकारात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम हो,’ उनले भने, ‘खेलकुदका माध्यमबाट युवालाई दुव्र्यसनबाट टाढा राख्दै स्वस्थ र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्न सकिन्छ ।’

बाह्रदशी डाँडालाई खेलकुद तथा पर्यटनसँग जोडेर यसको प्रचारप्रसार गर्ने उद्देश्यसमेत प्रतियोगितासँग जोडिएको उनले बताए । बाह्रदशीमा रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान विस्तार गर्न स्थानीयस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

शेयर गर्नुहोस :

0
Shares