विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पुर्याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले अहिलेसम्म गरेको सहकार्य महत्वपूर्ण रहेको बताउनुभएको हो।
उहाँले कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै भन्नुभयो, “कांग्रेससँगको सहकार्य सुमधुर र अत्यन्तै सकारात्मक रह्यो। यो मेरो लागि महत्वपूर्ण विषय हो।”
मुख्यमन्त्री कार्कीले आगामी दिनमा पनि प्रदेशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि कांग्रेससँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले आफैँसँग राख्नुभएको छ। कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित ५ जनाको सहभागिता रहेको थियो। मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जानकारी दिएको छ।







प्रतिक्रिया