Banner news

धुलाबारी विद्युतका कर्मचारीमाथि कुटपिट, दोषिमाथि कारबाही नभए ‘ब्ल्याक आउट’ गर्ने चेतावनी

धुलाबारी विद्युतका कर्मचारीमाथि कुटपिट, दोषिमाथि कारबाही नभए ‘ब्ल्याक आउट’ गर्ने चेतावनी


झापा । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको घटनालाई लिएर कर्मचारीहरू आन्दोलित बनेका छन् ।

सेवा प्रवाह गरिरहेका बेला र छलफलका लागि प्रहरी कार्यालय जाँदा समेत दुई पटकसम्म सांघातिक हमला भएको भन्दै कर्मचारीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका हुन् ।

प्राधिकरणका कर्मचारीहरूका अनुसार साउन २८ गते बिहान करिब ११ः३० बजे धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारी सोमराज उप्रेतीमाथि कार्यालयमै मुक्का प्रहार गरी कुटपिट गरिएको थियो । आफ्नो तीन पुस्ते परिवारभित्र नपर्ने व्यक्तिको विद्युत चुहावट सम्बन्धी फाइल बोकेर आएका शेखर ओली नामक व्यक्तिले उप्रेतीमाथि कार्यकक्षमै धम्की दिँदै आँखा र टाउकोमा गम्भीर चोट पुग्ने गरी आक्रमण गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

सोही घटनाबारे छलफल गर्न इलाका प्रहरी कार्यालय धुलाबारी जाँदै गर्दा प्रहरी कार्यालयकै गेटमा मेचीनगर–११ का शम्भू राजवंशी लगायत १४÷१५ जनाको समूहले पीडित उप्रेती र अन्य कर्मचारीमाथि पुनः सांघातिक हमला गरेको बताइएको छ । दोहोरो आक्रमणबाट उप्रेतीको टाउको, आँखा, छाती र गर्दनमा गहिरो चोट लागेको छ । शारीरिक तथा मानसिक रूपमा गम्भीर घाइते भएका उप्रेतीको हाल बी.एन्ड.सी. अस्पताल झापामा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न दोषीहरूको पहिचान गरी तत्काल पक्राउ र कडा कारबाहीको माग गर्दै कर्मचारीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । जसअनुसार साउन २९ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा ज्ञापनपत्र बुझाउने र माग सम्बोधन नभएमा साउन ३० र ३१ गते कालो पट्टी बाँधेर कार्य सम्पादन गर्ने, भदौ १ गते बिहान ९ देखि १२ बजेसम्म र भदौ २ गते बिहान ९ देखि साँझ ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय झापामा कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि पनि माग पूरा नभए दैनिक अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूसमेत काम गर्न असमर्थ हुने र क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा ठप्प (ब्ल्याक आउट) हुनसक्ने चेतावनी दिइएको छ । दोषीमाथि कारबाही नभई उत्पन्न हुने सम्पूर्ण असहज परिस्थिति र ग्राहक वर्गमा पर्ने असुविधाको जिम्मेवार सम्बन्धित निकाय नै हुने ज्ञापनपत्रमार्फत अवगत गराइएको छ ।

शेयर गर्नुहोस :

756
Shares