बिर्तामोड

एनएमएसआरएको ५७ औं स्थापना दिवसमा रक्तदान

एनएमएसआरएको ५७ औं स्थापना दिवसमा रक्तदान


बिर्तामोड । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एन.एम.एस.आर.ए) को ५७ औँ स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । शुक्रवार आयोजित कार्यक्रममा २८ जना रक्तदाताले रक्तदान गरेका छन् ।

सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसाथ गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा औषधि तथा बिक्री प्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संकलित रगतले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा बोल्दै संघका मेची इकाईका सचिव दिवश लामिछानेले रक्तदान जीवनदानको महान कार्य भएकाले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । उहाँले कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि, सहयोगी तथा शुभेच्छुक प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय सदस्य विनोद राजवंशी तथा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा, बिर्तामोड शाखाका इन्चार्ज सचिन लिम्बू थेबे लगायत अन्य अतिथिहरु तथा संघका सदस्यहरूको उपस्थिति रहेको थियो ।

स्थापना दिवसकै अवसरमा नवौँ इकाई अधिवेशनबाट निर्वाचित भई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उहाँहरूको कार्यकुशलता, योगदान र सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद तथा सम्मान गरिएको थियो ।

मेची इकाईले आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग तथा पेशागत हितका कार्यक्रमहरूलाई निरन्तरता दिँदै संघको गौरव र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा इकाईका वरिष्ठ उपाध्यक्ष गोपाल सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा केक काटेर संघको ५७औँ स्थापना दिवस तथा एनएमएसआर डे मनाइएको थियो ।

मेची इकाईका अध्यक्ष ललित बहादुर जाग्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिवश लामिछानेले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares