सुधारका लागि जनप्रतिनिधिको ध्यानाकर्षण
प्रदीप परियार
झापा । एसियन हाइवे (एशियाली राजमार्ग) को पूर्वी खण्ड अन्तर्गत नेपालको पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजनालाई निर्माणका क्रममा देखिएका समस्याहरुबारे ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रियसभाका सदस्य सोमनाथ पोर्तेलसहितको एक टोलीले एसियन हाइवे विस्तार आयोजना प्रमुख सुनिलबाबु पन्तसँग भेट गरी समस्याहरुबारे ध्यानाकर्षण गराएको हो । टोलीमा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, शिवसताक्षीका नगर प्रमुख रोशन थोप्रा, कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, नेकपा एमाले स्थानीय विकास विभाग प्रमुख शिव ढुङगेललगायतले पन्तसँग भेट गरी सडक विस्तारका क्रममा देखिएका समस्या र सुधारबारे छलफल भएको छ ।
पूर्वी खण्डमा राजमार्ग विस्तार गरिरहेको सो आयोजनालाई नागरिकलाई धुलोबाट सुरक्षित बनाउन आग्रह गरिएको छ । पन्तसँगको भेटमा राजमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीले आम नागरिकलाई समस्या भएको बताइएको थियो । नागरिकले असाध्यै दुख पाएका छन्, पोर्तेलले भने – पूर्वाधार निर्माण गर्दा नागरिकलाई सास्ती दिन पाइदैन । तत्कालै आवश्यक सहजीकरण गर्न भनेका छौं ।

राष्ट्रियसभा सदस्य पोर्तेलका अनुसार असार १९ गते सम्म सम्पन्न हुनुपर्ने काम अहिलेसम्म ५० प्रतिशत समेत काम हुन सकेको छैन ।
काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम दमकस्थित आयोजना कार्यालयबाट भइरहेको छ । कुल लागत करिब १० अर्ब ९४ लाख रुपैयाँ रहेको आयोजनामा म्याद थप गरेर काम अघि बढाउने बुझिएको छ । दशैंअघि एकतर्फी थप १० किमि सडक कालोपत्रे गर्ने आयोजनाका प्रमुख पन्तले टोलीलाई जानकारी गराए । माघ १९ सम्म एकतर्फी शतप्रतिशत काम सक्ने योजना रहेको बताइएको छ । म्याद थपेर काम सम्पन्न गर्ने योजना रहेको आयोजना प्रमुखलाई बालमैत्री र अपांगतामैत्री संरचना निर्माण ध्यान दिन सूझाव दिइएको छ । यस्तै, जेब्राक्रसिङ लगायतका संरचना निर्माणमा समेत ध्यान दिन आग्रह गरिएको छ ।
टोलीले व्यस्त र जनघनत्व धेरै रहेको शहरमा अण्डरपास र ओभरपास निर्माणमा प्राथमिकता दिन भनेको छ । चारपानेदेखि एकै पटक दमकमा ओभरसास राखिएको छ, पोर्तेलले भने – कनकाईको सुरुङा क्षेत्रमा समेत ओभर र वा अण्डरपास जरुरी पर्छ । अत्याधिक दुर्घटनाको जोखिम भएको क्षेत्रमा सडक विस्तार आयोजनाले त्यसमा पुर्नविचार गर्नुपर्ने पोर्तेलको धारणा छ ।
एसियन हाइवे निर्माणका क्रममा सरोकारवाला, जनप्रतिनिधि र राजनीतिक दलहरुसँग पर्याप्त छलफल समेत नभएकाका कारण संचरना निर्माणमा कमजोरी देखिएको टोलीको बुझाई छ । बढ्दो शहरीकरणका कारण सुरुङा क्षेत्रमा ओभरपासको जरुरी छ, त्यहाँ ध्यान दिएको पाइएन, उनले भने – अझै केही गर्न सकिन्छ वा सुधार गर्न सकिन्छ भने गर्नुहोस् भनेका छौं ।
आयोजना प्रमुख पन्तलाई पैदलयात्री, जाम व्यवस्थान र सहजै आवतजावत गर्न सकिने संरचना निर्माण गरेर नागरिकहरुलाई सहज बनाउन आग्रह गरिएको छ । उत्तर क्षेत्रमा विद्यालय र बजारहरु छन्, दक्षिण क्षेत्रमा बसोबास धेरै भएकाले सहज आवतजावतमा व्यवस्थापन मिलाउन सूझाव दिइएको छ ।
पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले एसियन हाइवे निर्माण पक्षले एकैपटक दुवै तर्फको बाटो भत्काउदा व्यवसायीहरु मारमा परेको बताए । एकैपटक दुवै तर्फ बाटो भत्काउँदा सार्वजनिक यातायातसँगै आवतजावतमा कठिनाई भइरहेको छ । उनका अनुसार सडक निर्माण र विस्तारका क्रममा एकतर्फी सकेर मात्रै अर्को तर्फ बनाउन थाल्नुपर्ने थियो । एकैपटक दुई तर्फ बाटो विग्रिदा यातायात व्यवसायीलाई चौगुणा क्षति भइरहेको छ । अध्यक्ष रिजालले भने, पहिले एक पटकमा २० हजार खर्च गरेर मर्मत गर्न सकिन्थ्यो भने अहिले ८० हजार खर्च हुन्छ । ३ घण्टाको बाटो ६ घण्टा लाग्छ । आम नागरिकलाई सहज आवतजावतका लागि आयोजना पक्षले एक तर्फ सकेर मात्रै अर्को तर्फ काम गर्न आवश्यक छ ।
सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।
पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।
नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको छ । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने छ ।
एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा २०८० माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो ।
ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् ।
झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् ।
तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माणको काम गरिरहेको छ ।







प्रतिक्रिया