Banner news

बारामा १० करोड बढीको सामान बरामद, १ हजार मुद्दा दर्ता

बारामा १० करोड बढीको सामान बरामद, १ हजार मुद्दा दर्ता


सञ्जय मिश्रा
बारा, ३० साउन । जिल्ला प्रहरी कार्यालय बाराले गत आर्थिक वर्ष २०८२-०८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा फर्छ्यौट गरेको छ। यो कुल मुद्दाको करिब ६२ प्रतिशत हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी  नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ५ सय १८ मुद्दा अझै फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिएका थिए।

एसपी कुँवरका अनुसार २०८२ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएयता अपराध नियन्त्रण तथा अनुसन्धानसँगै चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

प्रहरीले गत आर्थिक वर्ष २०८२-०८३ मा भन्सार छली गरी ल्याइएका १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। अवैध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरिएको तथा ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको एसपी कुँवरले बताएका थिए।

खुला सीमाबाट हुने चोरीपैठारी तथा भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती बढाइएको उनले बताए। शंकास्पद गतिविधिमाथि नियमित चेकजाँच र निगरानी भइरहेको उनको भनाइ छ।

बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर र घरेलु विवाद चुनौतीका रूपमा देखिएको एसपी कुँवरले बताए। आर्थिक वर्ष २०८२-८३ मा मात्रै बैंकिङ कसुरसम्बन्धी १९५ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १३१ वटा फर्छ्यौट भएका छन् भने ६४ वटा मुद्दा बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरका १४७ वटा मुद्दा दर्ता भएका थिए।

प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी–तस्करी नियन्त्रण, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

राजमार्ग, औद्योगिक क्षेत्र तथा संवेदनशील स्थानमा नियमित चेकजाँच र गस्ती बढाइएको एसपी कुँवरले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघनमाथि निगरानी बढाइएको उनले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बारामा ९ सय ५३ जनाको दरबन्दी रहेकामा हाल ८ सय ९२ जना प्रहरी कार्यरत छन्। दरबन्दीअनुसार ६१ जना प्रहरी जनशक्ति अपुग रहे पनि उपलब्ध जनशक्तिबाट शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा गस्तीको काम सञ्चालन भइरहेको एसपी कुँवरले बताएका थिए।

सवारीसाधनको अभावका कारण कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै मोटरसाइकल प्रयोग गरेर ड्युटी गर्नुपर्ने अवस्था रहेको उनले बताए। केही अस्थायी प्रहरी पोस्ट तथा चौकीमा फ्यान, बेडलगायतका आधारभूत सुविधाको समेत समस्या रहेको उनको भनाइ छ।

एसपी कुँवरले आगामी दिनमा नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अपराध नियन्त्रण तथा अनुसन्धानमा नागरिकबाट प्राप्त हुने सूचना महत्वपूर्ण हुने भन्दै उनले प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरेका थिए।

शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सही सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका थिए।

नेपाल प्रहरीको ‘नेपाल पुलिस एप्स’ मार्फत प्राप्त हुने गुनासो तथा सूचनामाथि समेत जिल्ला प्रहरी कार्यालयबाट आवश्यक निगरानी र समन्वय गर्ने गरिएको उनले जानकारी दिएका थिए।

पत्रकार सम्मेलनमा उनीसंगै जिल्ला प्रहरी बाराका प्रवक्ता डीएसपी मिन बहादुर घलेको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस :

0
Shares