अन्तराष्ट्रिय

पश्चिम बंगालका पूर्व उपसभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या

पश्चिम बंगालका पूर्व उपसभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या


कोलकत्ता, ३१ साउन । पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख आशिष ब्यानर्जीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ।

आइतबार बिहान वीरभूम जिल्लास्थित तृणमूल कांग्रेसको कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। आशिष ब्यानर्जी रामपुरहाटको वडा नम्बर ५ अन्तर्गत हत्तलापाडा क्षेत्रमा बसोबास गर्थे। तृणमूल कांग्रेसको पार्टी कार्यालय उनको घर नजिकै अवस्थित थियो।

प्रहरीका अनुसार अगस्ट १६ को बिहान कार्यालयमा एउटा सुसाइड नोट पनि फेला परेको थियो, जसमा उनले आफ्नो मृत्युका लागि कोही पनि जिम्मेवार नभएको उल्लेख गरेका थिए। आशिष बनर्जी टीएमसीका पूर्व विधायक पनि थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ।

आशिष बनर्जीलाई ममता बनर्जीका निकटतम सहयोगी तथा तृणमूल कांग्रेसका वरिष्ठ नेता मानिन्थ्यो। पश्चिम बंगालमा टीएमसीले सरकार गठन गरेपछि उनले विद्यालय शिक्षा र कृषि लगायतका विभिन्न मन्त्रालयहरूमा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाले।

आशिष रामपुरहाट निर्वाचन क्षेत्रबाट सन् २००१, २००६, २०११, २०१६ र २०२१ गरी लगातार पाँच कार्यकालका लागि विधायक निर्वाचित भए। ममताको अघिल्लो कार्यकालमा उनले विधानसभाको उपसभामुखका रूपमा पनि काम गरेका थिए। तर, सन् २०२६ को विधानसभा निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुव साहसँग पराजित भए।

आशिष ब्यानर्जीले जुन २ मा टीएमसीको वीरभूम जिल्ला अध्यक्ष र जिल्ला कोर कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनले कोर कमिटी निष्क्रिय भइसकेको र अब त्यसको आवश्यकता नरहेको बताएका थिए। आशिष ब्यानर्जीले अबदेखि आफू पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने बताएका थिए।

शेयर गर्नुहोस :

0
Shares