Banner news

झापामा एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ

झापामा एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ


झापा । नेकपा एमाले झापाले मिसन पार्टी जागरण अभियान शुभारम्भ गरेको छ । आम नागरिक र कार्यकर्ताहरुको घरदैलोसम्म पुग्ने अभियानको पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिर्तामोडमा भव्य समारोहका बिच शुभारम्भ गर्नुभयो ।

फागुन २१ को निर्वाचनपछि पहिलो पटक झापाको कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओलीले जिल्लाको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि ओलीले पार्टीमा जागरण आवश्यक रहेकोले झापाको कार्यक्रम महत्पूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र पुनर्गठनको मुद्धा उठिरहेको बेला जागरण अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई सुझाव दिनुभयो । अध्यक्ष ओलीले पार्टीलाई प्रहार भएको बेला पुनर्गठनभन्दा पुनर्जागरणको आवश्यकता भएको बताउनुभयो । नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक भएको संज्ञा दिनुभयो । अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी समेत दिनुभएको छ ।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ उहाँले भन्नुभयो – एमालेलाई अहिले पुनर्गठनको गर्नुपर्ने अवस्थामा छैन । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ फेरि थप्नुभयो – नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन भनिदैन । अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन, कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’ २०२९ सालदेखि २०३२ सालसम्म सीपी मैनालीहरूले आफूलाई सदस्यविहीन बनाएको स्मरण समेत गर्नुभयो । फेरि ०७७ सालमा प्रचण्ड र माधवकुमार नेपालहरूले पार्टीबाट निस्कासन गरेको प्रसंग सुनाउँदै आफूले हरेकपटक पार्टी बचाउँदै आएको बताउनुभयो ।

पार्टीमा सदस्य भन्दा कम भोट आएको सुन्दा लाज हुन्छ ओलीले भन्नुभयो, ‘कस्तो सदस्य छौं ?’ पार्टीलाई भोट नहाल्ने सदस्यको नवीकरण नगर्न समेत निर्देशन दिनुभयो । ‘सदस्यको नवीकरण गर्नुस्, गैर सदस्यको होइन,’ उहाँले भन्नुभयो , ‘नयाँ सदस्य थप्नुस् ।’

अध्यक्ष ओलीले ‘पर्याप्त खान पाएकाहरूले धेरै गुनासो गरेको बताउनुभयो । केही नपाएकाले यसपटक पनि भोट हाले । धेरै पटक पाइरहेकाहरुले यसपटक पनि भोट हालेनन् । सबैलाई भनेको नबुझ्नुहोला । सम्बोधनका क्रममा पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैको कुरा सुन्ने गरेको पनि बताउनुभयो । पार्टी जीवनको कुरा पार्टीभित्रै छलफल गर्नुपर्छ, सामाजिक सञ्जालमा लेखेर हुनेवाला छैन ।

अभियान मार्फत अध्यक्ष ओलीले जनताका घरघरसम्म पुग्न सुझाव दिनुभएको छ । एउटा निर्वाचनमा अनपेक्षित परिणाम आयो भन्दैमा निराश नहुन आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा जीत निकाल्ने गरी लाग्न कार्यकर्ताहरुकलाई आग्रह गर्नुभएको छ ।

झापाले महत्व बुझेन
पार्टीका सचिव भानुभक्त ढकालले झापाका पार्टी नेता कार्यकर्ताहरुले अन्य जिल्लाभन्दा धेरै अवसर पाएको बताउनुभयो । झापाले पार्टी र राज्यका अन्य तहमा धेरै नै अवसर पाएको छ । पार्टी केन्द्रीय अध्यक्ष पाएको छ, तर महत्व बुझ्न सकेन, उहाँले भन्नुभयो – निर्वाचनमा यस्तो परिणाम आउनुहुने थिएन । आगामी दिनमा झापाले सोच्नुपर्ने विषय हो । पार्टीको नीति, नेतृत्वमाथि भइरहेको आक्रमणविरुद्ध झापाको प्रतिवाद ख्याउटे भएको भन्दै जागरण अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

संगठन विभागका प्रमुख ढकालले नयाँ संकल्पका साथ पार्टी काममा लाग्नुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, संमृद्ध नेपाल सुशी नेपालको महाअभियान सफल बनाउन केपी ओलीको नेतृत्व आवश्यक रहेको छ । परिभाषित जिम्मेवारी पूरा नगर्ने, औपचारिक एमाले मात्रै बन्ने हँुदा जनतासँगको दुरी टाढा भएको उहाँको धारणा छ । झापाको जागरण अभियानले जनतासँगको दुरी घटाउन मद्दत गर्ने विश्वास व्यक्त गनुभयो । झापाले खडेरीको समयमा पनि पार्टी नविकरण गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

यस्तै, पार्टीका सचिव एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले कार्यकर्तामा भएको निराशालाई चिर्नका लागि एकतावद्ध भई राष्ट्रिय शक्ति निर्माणमा लाग्नुपर्ने बताउनुभयो । निर्वाचनको समीक्षा अन्तिम चरणमा पुगेको भन्दै उहाँले पार्टीभित्रका समस्या समाधान गर्न नयाँ ढंगले लाग्नुपर्ने धारणा राख्नुभयो ।
पार्टीभित्र चरम अराजकता भएको बताउँदै उहाँले समस्याहरुको पहिचान गरेर समाधान गर्न आवश्यक रहेका औल्याउनुभयो । उहाँले पार्टीभित्र नेतृत्वविरुद्ध प्रहार भइरहेको बेला शत्रुहरुसँग स्वरमा स्वर मिलाउनु दुखद् भएको धारणा व्यक्त गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares