शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीसम्बन्धी चारदिने अभिमुखीकरण मंगलबारदेखि सुरु भएको छ। नगरपालिकाको कार्यालयमा सुरु भएको अभिमुखीकरणमा सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइँदैछ।
अभिमुखीकरणमा सार्वजनिक खरिदका विविध पक्ष, खरिदका प्रकार तथा विधि, खरिदका लागि आवश्यक समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना लगायतका विषयमा सहभागीलाई जानकारी गराइने नगरपालिकाले जनाएको छ।

त्यस्तै, प्राविधिक विवरण तयार गर्ने प्रक्रिया, कार्यक्षेत्र तथा शर्त निर्धारण, लागत अनुमान तयार गर्ने विधि, लागत अनुमान सार्वजनिक गर्ने व्यवस्था, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत सार्वजनिक खरिदसँग सम्बन्धित व्यावहारिक विषयमा समेत अभिमुखीकरण गरिनेछ।
चारदिने कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव तथा सार्वजनिक खरिदसम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न कर्मचारीहरूको सहभागिता रहेको छ। सार्वजनिक खरिदका क्रममा देखिने कानुनी तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्दै खरिद प्रक्रियालाई कानुनसम्मत र प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
सरकारले सार्वजनिक खरिदसम्बन्धी ऐन तथा कानुनी व्यवस्थामा संशोधन गरेपछि त्यसबारे जनप्रतिनिधि तथा कर्मचारीलाई अद्यावधिक जानकारी गराई संशोधित प्रावधानको प्रभावकारी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नगरपालिकाका अनुसार सार्वजनिक खरिद प्रक्रिया स्थानीय तहको विकास निर्माण, सेवा प्रवाह तथा दैनिक प्रशासनिक कार्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यससम्बन्धी कानुनी र व्यावहारिक ज्ञान अभिवृद्धि गर्नु आवश्यक छ। अभिमुखीकरणले खरिद प्रक्रियामा हुने सम्भावित त्रुटि न्यूनीकरण गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अभिमुखीकरणमा श्री लक्ष्मण खतिवडा र नवानित तिवारीले सहजीकरण गरिरहेका छन्। चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीलाई सार्वजनिक खरिदसँग सम्बन्धित कानुनी प्रावधानका साथै व्यवहारमा आइपर्ने समस्याको समाधान र प्रक्रियागत अभ्यासबारे समेत जानकारी गराइनेछ।







प्रतिक्रिया