खेल

क्रिस्टियानोले सन्यासको संकेत गर्दै भने, ‘सम्भवतः फुटबलमा मेरो यो अन्तिम वर्ष’

क्रिस्टियानोले सन्यासको संकेत गर्दै भने, ‘सम्भवतः फुटबलमा मेरो यो अन्तिम वर्ष’


काठमाडौं, ३ भदौं । कीर्तिमानी खेल जीवन बिताइसकेका क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबल खेल्ने यो आफ्नो अन्तिम वर्ष हुन सक्ने संकेत गरेका छन्।

इतिहासकै उत्कृष्ट खेलाडीहरू मध्ये एक मानिने ४१ वर्षीय रोनाल्डोले पाँचवटा ‘बालोन डी ओर’ अवार्डका साथै थुप्रै महत्त्वपूर्ण उपाधि र कीर्तिमानी उपलब्धिहरू हासिल गरेका छन्।

गत मंगलबार आफ्नी पत्नी जर्जिना रोड्रिगेजसँग विवाह गरेपछि हालै ‘भोग’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘फुटबलमा यो सायद मेरो अन्तिम वर्ष हो र म एउटा शानदार विरासत छोड्न चाहन्छु।’

उनले ‘आफू परिवारसँग अझ बढी समय बिताउन आतुर रहेको’ बताउँदै आफ्नो भविष्यको योजना ‘पहिले नै तय गरिसकेको’समेत उल्लेख गर्न छाडेनन् ।

‘मलाई व्यस्त राख्ने यति धेरै कुराहरू छन् कि कुनै एउटा मात्र कुरा बताउन गाह्रो छ। फुटबलबाट बाहिरिँदा जीवनमा ठूलो रिक्तता आउन सक्छ, त्यसैले आफ्नो समयलाई केवल एउटा काममा मात्र नभई विभिन्न तरिकाले सदुपयोग गर्नुपर्छ,’ उनले भने, ‘साथै, अझ बढी रमाइलो गर्ने, धेरै यात्रा गर्ने, मलाई असाध्यै मन पर्ने खेल ‘प्याडेल’हेर्ने तथा खेल्ने र मैले वा भनौँ हामीले आर्जेको उपलब्धिलाई निरन्तर आनन्द लिने योजना छ। किनभने, आखिर यो २५ वर्षको लामो यात्रा धेरै त्याग र बलिदानमा आधारित छ।’

रोनाल्डोले यसै गर्मीमा पोर्चुगलका लागि आफ्नो छैटौँ विश्वकप खेलेका थिए र केही गोल पनि गरेका थिए, जुन आफैँमा एक ऐतिहासिक कीर्तिमान हो तर अहिले उनी खेलकुदको दुनियाँमा एकछत्र राज गर्ने त्यो पुरानो खेलाडीको तुलनामा निकै कमजोर अवस्थामा देखिन्छन्।

म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता क्लबहरूबाट खेलिसकेका उनले आफ्नो खेल जीवनमा हालसम्म क्लब र राष्ट्रका लागि कुल ९७६ गोल गरिसकेका छन्।

आफ्नो करियरमा १,००० गोलको आँकडा पूरा गर्ने उनको लामो समयदेखिको लक्ष्य हो, यस सिजन साउदी लिगमा खेल्दै उनी यो कोशेढुङ्गा पार गर्न सक्छन्।

रोनाल्डो हाल साउदी अरेबियाली क्लब अल नासरसँग आबद्ध छन् र उक्त क्लबसँगको उनको सम्झौतामा अझै एक वर्ष बाँकी रहेको छ। उनले संकेत गरे अनुसार यसपछि सम्भवत उनी क्लब फुटबल र अन्तराष्ट्रिय खेलवाट टाढा हुनेछन्।

शेयर गर्नुहोस :

0
Shares