दमक । दमक नगरपालिकाले नगर क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्न, बजार तथा यातायात व्यवस्थापन सुधार गर्न र सामाजिक विकृति नियन्त्रण गर्न विभिन्न कडा नियमहरू लागू गर्दै सर्वसाधारण तथा व्यवसायीहरूलाई नियम पालना गर्न सार्वजनिक अनुरोध गरेको छ । नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रम र यातायात तथा ट्राफिक व्यवस्थापन समितिको निर्णयअनुसार यी व्यवस्थाहरू कार्यान्वयनमा ल्याइएको हो ।

नयाँ व्यवस्था अनुसार सडकपेटी अवरोध हुने गरी व्यवसाय सञ्चालन गर्न वा सामान तथा निर्माण सामग्री राख्न पूर्ण रूपमा निषेध गरिएको छ र नियम उल्लंघन गरेमा सामान जफतका साथै जरिवाना गरिनेछ । नयाँ सब्जी बजारका व्यवसायीले तोकिएको स्टल बाहिर सामान फिजाएर बेच्न पाउने छैनन् भने अति व्यस्त सडकमा ठेला वा गाडीमा अनुमति बिना माइकिङ गरी सामान बेच्ने कार्यमा रोक लगाइएको छ ।
मासु पसलहरूले सिसाको वारवेर, सोकेश वा जाली प्रयोग गरेर मात्र बिक्री गर्नुपर्नेछ भने हड्डी र फोहोरको व्यवस्थापन व्यवसायी आफैँले गर्नुपर्नेछ । यसका साथै मन्दिर, विद्यालय र स्वास्थ्य केन्द्रको १०० मिटर दूरीभित्र मद्यपान, धुम्रपान, खैनी, गुट्का बिक्री–वितरण र सेवन गर्न पाइने छैन । व्यावसायिक भवनहरूले अन्डरग्राउन्ड पार्किङ अनिवार्य प्रयोगमा ल्याउनुपर्नेछ भने पोल वा सडकपेटीमा अनुमतिविना विज्ञापन टाँस्न पाइने छैन ।
यातायात र पार्किङतर्फ बजार क्षेत्रमा महिनाको १ देखि १५ गतेसम्म सडकको पूर्वी तर्फ र १६ देखि मसान्तसम्म पश्चिम तर्फ एकतर्फी पार्किङ लागू गरिएको छ र नियम उल्लंघन गर्ने सवारी साधनलाई नगरप्रहरीले ह्विल लक गरी कारबाही गर्नेछ ।
दमक नगरपालिकाले साना सवारीको पहिचानका लागि दमक ठेगाना भई लाइसेन्स प्राप्तलाई हरियो, लाइसेन्स प्रक्रियामा रहेकालाई पहेंलो र दमक बाहिरका ठेगाना भएकालाई रातो स्टिकरको व्यवस्था गरेको छ भने गैर–नागरिक, अशक्त, वृद्ध तथा नाबालकले ट्याम्पो वा सफारी चलाउन पाउने छैनन् । बसपार्क परिसर बाहिर अन्यत्र टिकट काउन्टर राख्न मनाही गरिएको छ भने गणतन्त्र चोक, आकासे पुलदेखि पशुपति आयल सेन्टरसम्म अटो र सफारी मेन ट्रयाकमा चलाउन रोक लगाइएको छ । ठूला मालवाहक सवारी साधनले बिहान ९ बजेभित्र र बेलुका ५ बजेपछि मात्र ढुवानी तथा लोड–अनलोड गर्न पाउनेछन् ।
सुरक्षा र सरसफाइको हकमा बिना हेल्मेट वा तीन जना चढेर बाइक चलाउने र ठूलो आवाज निकाल्ने मोटरसाइकलमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । जथाभावी फोहोर फाल्न, सेप्टी ट्याङ्कीको फोहोर छरपस्ट पार्न र सडक वा पेटीमा घरपालुवा कुकुरलाई दिसा–पिसाब गराउन निषेध गरिएको छ । चोक–गल्लीमा रकम सट्टाबाजी गरी क्यारमबोर्ड, तास, लुडो खेल्ने र होहल्ला वा चोरी जस्ता गतिविधि गर्नेमाथि कडा कानुनी कारबाही गरिने जनाइएको छ । नगरपालिकाले औद्योगिक, पर्यटकीय, हरित, स्वच्छ र सुरक्षित नगर निर्माणको उद्देश्य हासिल गर्न यी नियमहरू कडाका साथ पालना गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।







प्रतिक्रिया