बिर्तामोड । झापाको पुरानो सामुदायिक विद्यालय शनिश्चरे माविले पहिलो पटक महिला अध्यक्ष पाएको छ । वि.सं. २००५ सालमा स्थापना भएको विद्यालयले व्यवस्थापन समितिको अध्यक्षमा सिन्धु निरौलालाई पाएको हो । निरौलाका दुई जना छोराछोरी कक्षा १० र ११ मा अध्ययनरत छन् । उनी यसअघि विद्यालय व्यवस्थापन समितिको सदस्यको जिम्मेवारीमा थिइन् ।

सरकारले केहि नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि विद्यालय व्यवस्थापन समितिमा रहेको शिक्षासेवी र चन्दादाताबाट मनोनित सदस्य खारेज गर्ने प्रावधानका कारण उनले सो अवसर पाएकी हुन् । सो प्रावधानबाट मनोनित भई शिक्षासेवी बद्री ओली अध्यक्ष बनेका थिए । शिक्षासेवी र चन्दादाताबाट मनोनित सदस्य खारेज गर्ने प्रावधानसँगै ओली अध्यक्षबाट विदा भएका हुन् । एक वर्षअघि ओली अध्यक्ष बनेका थिए । सो प्रावधानपछि अध्यक्ष ओली र सदस्य इन्दिरा निरौला समितिबाट बाहिरिएका थिए । अध्यक्ष ओली समितिबाट बाहिरिएपछि निरौलाले सो अवसर पाएकी हुन् । ९ सदस्यीय समितिबाट २ जना हटेपछि ७ जनामा समिति कायम भएको थियो ।
साहित्यक्षेत्रमा चर्चित गजलकारका रुपमा परिचित निरौला सहकारीमा कार्यरत समेत छिन् । युवा भएकाका कारण केही गर्ने हुटहुटी देखिएको स्थानीयको प्रतिक्रिया छ । सामुदायिक विद्यालयको सुधारका लागि उनको नेतृत्व सफल हुने स्थानीय अगुवाहरुको धारणा छ । विद्यालय सञ्चालन, रेखदेख र व्यवस्थापनको जिम्मेवारी समितिलाई हुनेछ । शिक्षक प्रतिनिधि पुण्य सुवेदीले नयाँ अध्यक्ष युवा रहेको बताउँदै विद्यालय सुधारका निम्ति राम्रो योजनाका साथ काम गर्नुहुने विश्वास गरेका छन् ।
अध्यक्ष निरौलाले मंगलवार विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरुसँग छलफल गरेकी छन् । छलफलमा कमजोर विद्यार्थीहरुका लागि उपचारात्मक कक्षा सञ्चालन गर्ने, अभिभावकसँगको सम्पर्क र समन्वय बढाउने विषयमा निर्णय भएको थियो । ११ सय भन्दा बढि विद्यार्थी रहेको सो विद्यालयमा गुणस्तर सुधारमा समिति र शिक्षकहरुमा एकमत भएका छन् ।
अध्यक्ष निरौलाले विद्यालयको नेतृत्वलाई सफल बनाउन परिणाम निकाल्न जरुरी रहेको बताइन् । उनले त्यो परिणाम भनेको गुणस्तर सुधार नै रहेको धारणा व्यक्त गरिन् । जिम्मेवारी लिएपछि चुनौतिका बिचमा पनि काम गर्नुपर्ने उनको भनाई छ । साना साना समस्याहरुको पहिचान गर्दै समाधानका उपायहरु खोज्ने अध्यक्षको प्रतिक्रिया छ । विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ, उनले भनिन्, अहिले अभिभावकसँग विद्यालयको दुरी छ । त्यसलाई सुधार गर्न जरुरी छ । विद्यार्थीहरुलाई नियमित विद्यालय आउने र कमजोर विद्यार्थीलाई सिकाईमा नयाँ अभ्यास गर्ने गराउने योजना छ । अध्यक्ष निरौलाका अनुसार विशेष कक्षा नै सञ्चालन गरेर कमजोर विद्यार्थीहरुमा सिकाई सुधार ल्याउन आवश्यक छ ।
सुधार अभियानमा विद्यालय, अभिभाव र विद्यार्थीको समेत समस्या पहिचान गरेर समाधान गर्ने योजना रहेको उनको धारणा छ ।







प्रतिक्रिया