डोल्पा । नेपाल–चीन सीमा क्षेत्रका करिब २०० स्थानीय बासिन्दालाई प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना र शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा गाउँमै सेवा शिविर सञ्चालन गरी आवश्यक प्रक्रिया पूरा गरेका स्थानीयलाई पत्र वितरण गरिएको हो।
सीमावर्ती बस्तीका नागरिकलाई व्यापार, दैनिक उपभोग्य सामग्री खरिद तथा सामाजिक कामका लागि सीमापारि आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले सेवा दिइएको प्रशासनले जनाएको छ।
भौगोलिक विकटताका कारण सदरमुकाम पुगेर सेवा लिनुपर्ने बाध्यता रहेका स्थानीयले गाउँमै प्रवेश–प्रस्थानपत्र पाएपछि सहज भएको बताएका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनका कर्मचारी र स्थानीयको सहभागिता थियो।







प्रतिक्रिया