काठमाडौं, ५ भदौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्।
उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्।
राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकताका लागि नागरिकहरू एकजुट हुनुपर्ने बताए।

“भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानमा जुटौँ। शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकता कायम गर्न लाखौँ नागरिक सडकमा उत्रिऔँ,” हमालले भने।
हमालले आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनी गर्दै राज्यविहीनताको अवस्था सिर्जना गर्ने शक्तिहरू नै अहिले सरकारको नेतृत्वमा पुगेको आरोप लगाए। आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दालाई सम्बोधन गर्नुपर्ने सरकार त्यसको विपरीत दिशामा अघि बढिरहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीको व्यक्तिगत पहिचानसँग जोडिएको विषयमा समेत गम्भीर प्रश्न उठाउँदै हमालले भने, “प्रधानमन्त्रीले आफ्नै जातसमेत परिवर्तन गरेको कुरा गम्भीर छ। उहाँले आफ्नै समुदाय र मातापिताले दिएको पहिचानसमेत मेटाउनुभएको छ। यस्ता पात्रले देशको प्रतिनिधित्व कसरी गर्न सक्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।”
उनले प्रधानमन्त्रीका नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति तथा परराष्ट्रमन्त्रीले सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत सन्धिको सक्कल प्रति नेपालसँग नरहेको भन्दै दिएको सार्वजनिक अभिव्यक्तिप्रति पनि गम्भीर आपत्ति जनाए। यस्ता विषय राष्ट्रियता र सार्वभौमिकताको दृष्टिले संवेदनशील भएकाले सार्वजनिक रूपमा गम्भीर बहस र छानबिन हुनुपर्ने उनको भनाइ थियो।
गत वर्षको जेनजी आन्दोलनमा भएको बलिदान र नागरिकको अपेक्षामाथि घात गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिँदै हमालले आवश्यक परे आफूहरू पुनः कठिन संघर्षका लागि तयार रहेको बताए।
“सरकार जुन दिशामा जानुपर्थ्यो, त्यसको ठीक विपरीत दिशामा गएको छ। अघिल्लो वर्ष जेनजी आन्दोलनका क्रममा भएको बलिदानमाथि घात गर्ने काम स्वीकार्य हुँदैन। यदि त्यस्तो अवस्था आयो भने हामी फेरि कठिन संघर्षका लागि तयार छौँ,” उनले भने।
हमालले भदौ २३ लाई केवल विगत सम्झिने दिन नभई शहीदको बलिदान, घाइतेहरूको पीडा र शहीद परिवारको अपेक्षालाई सम्मान गर्दै राष्ट्रिय एकता, सुशासन र जनताको आकांक्षाका पक्षमा नयाँ संकल्प गर्ने दिन बनाउन सबै नेपालीलाई आह्वान गरे।







प्रतिक्रिया