प्रदीप परियार
अहिले एमालेभित्र र बाहिर एउटा जोडतोडको बहस भइरहेको छ ‘रिफम, अर्थात पुनर्गठन । पार्टीमा एउटा पङ्ती एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध युग सकियो भनेर चर्को बहस गरिरहेको छ । अर्को पङ्ती महाधिवेशबाट निर्वाचित अध्यक्षलाई कार्यकालभर काम गर्न दिनुपर्छ भन्ने बहसमा छ । अहिलेको अप्ठ्यारो परिस्थितिमा जिम्मेवारीको झोला फ्याँकेर नहिड्ने अध्यक्ष ओलीको अडान छ ।
यसै, साता एमाले अध्यक्ष ओली झापा र इलामका दुई वटा कार्यक्रममा सहभागी भए । साउन ३० गते फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो बैठकलाई सम्बोधन गरेर ३१ गते झापाको बिर्तामोडमा कार्यकर्तालाई सम्बोधन गरे । झापामा पार्टीको मिसन जनजागर अभियान २०८३ को शुभारम्भ गरेर ओली काठमाडौं फर्किए ।
फागुन २१ को निर्वाचनपछि पूर्व जिल्लाको कार्यक्रम पहिलो थियो । झापा र इलामको कार्यक्रममा आउने भनेपछि एमाले नेता कार्यकर्तामा उत्साह थियो । एकथरी कार्यकर्ता कार्यक्रम फितलो हुन्छ, सहभागिता कमजोर हुन्छ भन्ने प्रचारमा थिए । इलाममा बैठक मात्र थियो, उपस्थिति ठिकै थियो । झापामा जागरण अभियानमा कार्यकर्ताको बृहत उपस्थिति भयो । उत्साहजनक थियो ।

झापाको सबैभन्दा ठुलो पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ता अटाएका थिएनन् । सयौं कार्यकर्ताहरु हल बाहिरै बस्न बाध्य भए । ओली झापा आउँदा कार्यकर्ताहरुको उपस्थिति प्रायः राम्रै हुने गरेको छ ।
झापा र इलामको कार्यक्रममा सम्बोधन गर्दा अध्यक्ष ओलीले प्रयोग गरेको शब्दलाई लिएर पार्टीभित्रको एउटा पङ्ती रिसाएको छ । इलाममा सम्बोधन गर्दा ‘आवारा’ र झापामा ‘किर्ना’ शब्द प्रयोग भएको थियो । दुई शब्दले एमालेभित्र खुव चर्चा पाइरहेको छ । दुवै सम्बोधनको म साक्षी थिए ।
पार्टीमा परिभाषित जिम्मेवारी पूरा नगर्ने, अध्यक्ष पदलाई हल्काफुल्का लिने, पार्टी कार्यालयको क्यानटिनमा बसेर चिया समुसा खाँदै अध्यक्षलाई कतिवेला हटाइदिऊ भन्नेहरुलाई ओलीले आवाराको संज्ञा दिए । मलाई लाग्छ, एमालेमा त्यो पङ्ती सानो छ । कसैले त्यो भूमिका निर्वाह गरे पनि आफूलाई ‘आवारा’ को रुपमा स्वीकार नगर्नुपर्ने हो । तर, आवारा शब्दमै आफूलाई चित्रण गरेर छाती फुलाउनेहरु एमालेमा होलान् भन्ने लागेको थिएन । हुनत, एमालेमा ओलीविरुद्ध वर्षौदेखि मोर्चाबन्दी भएकै हो । अहिले केही थपघट मात्रै भएको हो ।
अर्को ,‘किर्ना’ । बिर्तामोडको कार्यक्रममा ओलीले सम्बोधनका क्रममा किर्ना भने । पार्टीको माध्यमबाट सकेसम्म अवसर पाइसकेर मोटाउनेहरुलाई ओलीले त्यो संज्ञा दिएको मलाई लाग्यो । पर्याप्त अवसर पाइसकेर पार्टीविरुद्ध लाग्नेहरुलाई किर्ना भनिएको थियो । पार्टी आन्दोलनमा लागेर पनि केही अवसर नपाएकाहरुले पार्टीविरुद्ध नलागेको ओलीको अभिव्यक्ति थियो । को आवारा हो, को किर्ना हो ? मम, गर्दा हुने गरी ओलीले प्रष्ट भनिदिए । पापीको मन सिरिङ्ग जस्तै भयो ।
झापालाई एमालेको गढ भनिन्छ । तर, फागुन २१ ले गढको भाष्यलाई खारेज गरेको छ । जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा पराजित एमालेलाई झापामा कार्यक्रम गर्न सहज थिएन । तर, यो पटक एमाले नेता कार्यकर्ताहरुको उपस्थितिले झापामा एमाले फेरि जुर्मुराएको सन्देश दियो ।
राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीलाई हटाउनुपर्ने बहस भइरहेको छ । यो बहसले पार्टी निर्माणभन्दा पनि गिजोल्ने काम भइरहेको छ । जेनजी आन्दोलनपछि पुराना पार्टीमाथि भइरहेको आक्रमण र चुनावी नतिजाले कमजोर देखिएको एमालेलाई मजवुद तथा जिम्मेवार राजनीतिक दल बनाउन एमालेजन लाग्नुपर्ने हो । तर, पार्टी निर्माणको चरणमा पार्टी नेतृत्वविरुद्ध एउटा पङ्ती जोडतोडले लागेको छ, लगाइएको छ । पार्टी निर्माणमा एमाले नेता कार्यकर्ताहरुको मेहेनत अपरिहार्य छ । पार्टी निर्माणका लागि नेतृत्वमाथि प्रहार गरेर भन्दा पनि नेतृत्वको रक्षा गरेर जानुपर्ने हो । अहिले एमाले नेतृत्व अर्थात अध्यक्ष ओलीमाथि व्यापक प्रहार गर्ने काम भइरहेको छ । विपक्षी र विरोधीहरुभन्दा कडा ढंगले पार्टीभित्र केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने चर्काचर्की छ । जसको औचित्य छैन । महाधिवेशनले अध्यक्ष बनाएको हो, फेरि नेतृत्व बदल्ने पनि महाधिवेशनले नै हो ।
गएको राष्ट्रिय महाधिवेनमा प्रतिनिधिहरुले इश्वर पोखरेलाई पराजित गरेर ओलीलाई निर्वाचित गरेको हो । कतिपयलाई लाग्छ, ओलीले प्रतिनिधि छनौट मै आफ्ना पक्षलाई जिताए । विर्सन नहुने कुरा, प्रतिनिधि छनौटमा पार्टी सबै सदस्यहरुको मत थियो । सबै पार्टी सदस्यहरुले निर्वाचित गराएर पठाएका प्रतिनिधिहरुले ओलीलाई निर्वाचित गरे । त्यसो भएकाले महाधिवेशबाट निर्वाचित अध्यक्ष ओलीलाई कार्यकालभर काम गर्न दिनैपर्छ । पाँच वर्षका लागि प्रतिनिधिहरुले अध्यक्ष निर्वाचित गरेको हुँदा रिफमको बहसको अर्थ छैन ।
फेरि, केपी ओली बाँचुञ्जेल अध्यक्ष बनाउनुपर्ने हो भन्ने तर्क आउन सक्छ । त्यो पनि होइन, यो कार्यकाल ओलीलाई हटाउन मिल्दैन । अर्को महाधिवेशनबाट हटाए भयो । अहिले ओलीले चाहेर वा रिफम अभियान्ताहरुले चाहेर त्यो संभव छैन । के ओली हटाएपछि सबै समस्याको समाधान हुन्छ ? हुन सक्दैन । एउटा व्यक्तिलाई फुत्त हटाएर अर्को व्यक्ति ल्याएपछि चमत्कार हुने हो ? हुन सक्दैन । नयाँ अध्यक्ष बन्ने वित्तिकै अबको निर्वाचनमा एमाले पहिलो पार्टी भइहाल्ने होइन । किनभने, पार्टी राजनीति भनेको ‘जादू’ होइन ।
ओलीलाई अध्यक्ष बनाउने मन थिएन भने यसअघिकै महाधिवेशनबाट ओलीलाई पराजित गर्न सक्नुपर्ने थियो । महाधिवेशनमा जीत हासिल गर्न नसक्ने, अहिले जेनजी आन्दोलनपछिको परिस्थितिलाई हेरेर ओलीलाई हटाउनुपर्छ भन्नु बेतुकको बहस हो ।
पार्टीमा पुनर्गठनभन्दा पुर्नजागरणको अभियान चलाउन आवश्यक छ । अहिलेको आवश्यकता पनि पुर्नजागरण नै हो । फुत्किएको एमालेलाई जोगाएर यहाँसम्म ल्याउने व्यक्तिमाथि प्रहार गरेर पार्टी बन्दैन । हुनतः पुनर्गठनको मुद्धा भनेको स्वार्थीहरुको अभियान हो । ओलीलाई हटाएर रजगज चलाउन सकिन्छ भन्ने उद्देश्य बाहेक केही छैन ।
एमालेमा व्यापक सुधारको खाँचो छ । नेतृत्वमा कार्यशैली बदल्नैपर्छ । आम नागरिक र कार्यकर्ताप्रति जिम्मेवार बन्नैपर्छ । र, जिल्ला तहका नेता, कार्यकर्ताहरुले स्वार्थ त्याग्नुपर्छ । म बाहेक कोही ठिक छैन भन्ने नेता कार्यकर्ताहरुले एमालेलाई गिजाल्ने काम गरेका छन् । त्यो चेतनाबाट नेता कार्यकर्ताहरु बाहिर आउनुपर्छ ।
रिफम भन्नेहरु नै भन्दैछन्, केपी ओली हटाएर पनि हुने केही होइन । तर, केपी ओली हट्नुपर्छ । यसले ओलीविरुद्धको पूर्वाग्रह मात्र झल्काउछ । यसैले ओली हटाउने अभियान चलाएर समयको बर्बादी गर्नुभन्दा विकल्प रोज्नु राम्रो हो । माधव नेपालले बाटो नै बदले । भीम रावलहरु कहाँ छन् ? एमाले केपी ओलीको निजी कम्पनी होइन भन्नेहरुले बुझ्नपर्छ, उनले आफ्नो कार्यकालमा जिम्मेवारी पुरा गर्न पाउनुपर्छ । र, कार्यकर्ताहरुले सहयोग गर्नैपर्छ । होइन, अब एमाले ठिक लाग्दैन, केपी ओली ठिक लाग्दैन भने रिफमको बदला न्यूफम तर्फको बाटो रोज्नु राम्रो हो ।
अन्त्यमा, अहिले देश नै संकटमा छ । देशलाई लयमा ल्याउन राजनीतिक दलहरुको भूमिका अपरिहार्य छ । त्यसमा पनि एमालेको भूमिका सशक्त र रचनात्मक हुनुपर्छ । यसका लागि एमालेभित्र गिजोल्नेहरुले पार्टी र पार्टी नेतृत्वविरुद्ध भइरहेको आक्रमण प्रतिकार गर्नैपर्छ । एमालेभित्रको कमजोरी पहिचान गरेर समाधान खोज्नुपर्छ । रिफमका नाममा पार्टीलाई अस्तव्यस्त बनाउन हुन्न । जनताको जीवनमा भेटिने एमाले बनाउन रिफम पक्षधर र ओली पक्षधरहरु एकमनका साथ पार्टी निर्माणमा लाग्नैपर्छ ।







प्रतिक्रिया