अन्तराष्ट्रिय

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज


काठमाण्डौ – अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ ।

अदालतले यो नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो । म्यानहटनस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले नीति ‘स्पष्ट रूपमा गैरकानुनी’ रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

गएको जनवरीमा लागू भएको यो नीतिले नेपाल, अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमनलगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो ।

तर, सरकारले अदालतको पछिल्लो निर्णयविरुद्ध पुनरावेदन गर्न सक्नेछ । ट्रम्पले लाखौँ अवैध आप्रवासीलाई निष्कासन गर्ने वाचासहित राष्ट्रपतीय चुनावका लागि अभियान चलाउनुभएको थियो ।

निर्वाचित भएपछि उहाँले निर्वासनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चाल्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares