बिर्तामोड । विर्तासिटी इन्टरनेशनल बिर्तामोडका विद्यार्थीहरुले शनिवार करसोङ पदमार्गमा पदयात्रा गरेका छन् । शैक्षिक परामर्श संस्था विर्तासिटी इन्टरनेशलन एजुकेशनल कन्सल्टेन्सीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले विद्यार्थीसहितको पदयात्रा गरेको हो ।

शनिवार ५० भन्दा बढि विद्यार्थीसहित विर्तासिटीको टोलीले इलामको रोङ गाउँपालिकामा रहेको झण्डीडाँडा पुगेको थियो । पदयात्रामा विद्यार्थीहरुले झापाको उखरमाउलो गर्मीदेखि इलामको चिसो कुहिरोसम्मको अनुभव गरेका थिए ।
विद्यार्थीहरुको टोली मेचीनगर–१ मा रहेको निन्दासिरानबाट यात्रा सुरु गर्न पुगेका थिए । उनीहरु रमणीय पदमार्ग हुँदै, सुन्तलाका बोटहरु हेर्दैहेर्दै सलकपुर पुगे । सलकपुर पुगेका विद्यार्थीलाई प्रकृतिको सुन्दताले थप आकिर्षत बनाएको थियो । उनीहरु झण्डीडाँडासम्म पुगेर फर्किए ।
विर्तासिटीका सञ्चालक अनिल सापकोटाले पदयात्राको अनुभवसहित पर्यटन क्षेत्रको प्रवद्र्धन नै मुख्य उद्देश्य रहेको बताए । उनी भन्छन्, ‘यो मुलतः आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यमा केन्द्रित छ । तर, विर्तामोडको कोलाहलबाट एकदिन भएपनि विद्यार्थीहरुलाई प्रकृतिसँग जोड्न सकियो । जसले हामीमा रहेका मानसिक दबाबहरुलाई निर्मुल गर्दै थप कार्य गर्न उर्जा प्रदान गरेको छ ।’

उनले झापाको उत्तरपूर्वी निन्दा सिरानबाट झण्डीडाँडासम्म पुगेर पदयात्रा गर्दा नयाँ अनुभव गरेको बताए । निन्दा सिरानबाट सलकपुर हुँदै पदयात्रीहरु झण्डीडाँडा पुगेका थिए । करिव तीन घण्टामा विद्यार्थीहरुले निन्दा सिरानबाट झण्डीडाँडाको ७ किमि यात्रा गरेका हुन् ।
भारतको पश्चिम बंगाल राज्यको केही स्थानहरु पनि परबाट नियाल्दै नियाल्दै हिड्न सकिने करसोङ पदमार्ग पदयात्राका लागि रमणीय र सुन्दर रहेको अधिकांश विद्यार्थीहरुको भनाई थियो ।







प्रतिक्रिया