बिर्तामोड । १३ वर्षीया एक बालिकालाई प्रलोभनमा पारी यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले मानव बेचबिखन तथा ओसारपसार कसुरमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमकमा बस्दै आएकी ‘जुनु’ भनिने पार्वती ऋषिदेव र दमक नगरपालिका–८ बस्ने ५५ वर्षीय गणेश प्रसाद अधिकारी रहेका छन् । अधिकारीले दमक–८ मा ‘मनकामना होटल एण्ड लज’ सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार गत साउन ३१ गते घरबाट आफूखुसी हिँडेकी १३ वर्षीया बालिका (सांकेतिक नाम ०८३÷०८४ दमक ङ) सम्पर्कविहीन भएकी थिइन् । आफन्तले इलाका प्रहरी कार्यालय दमकमा दिएको हुलिया निवेदनका आधारमा खोजतलास गर्ने क्रममा भदौ ४ गते बालिका फेला परेकी हुन् ।
बालिकासँग गरिएको सोधपुछका क्रममा पार्वती ऋषिदेवले ललाई–फकाई अधिकारीले सञ्चालन गरेको मनकामना होटलमा पु¥याएर यौन धन्दामा लगाउन बाध्य पारेको रहस्य खुलेको थियो । घटना सार्वजनिक भएसँगै प्रहरीले दुवै विपक्षीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेश गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुञ्जन अवाले जानकारी दिएका छन् ।







प्रतिक्रिया