गणेश कोइराला
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारनमा भोज खाएका ६० जनाभन्दा बढी बिरामी परेका छन् । सोमबार रामकुमार श्रेष्ठको घरमा नातीको न्वारनमा भोज खाएका ६० जनाभन्दा बढी बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । अधिकांश अझै अस्पतालमा उपचाररत रहेका छन् ।
बिरामी परेकाहरूको प्रादेशिक अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार न्वारनको भोजमा मासु र समुसा खाएपछि अधिकांश बिरामी परेका थिए । बिर्ताबजारस्थित गणेश फ्रेस हाउसबाट खरिद गरिएको कुखुराको मासु र समोसा खाएपछि अधिकांश बिरामी भएको जनाइएको छ । यद्दपि, बिरामी हुनुको कारण भने प्रयोगशाला परीक्षणपछि मात्रै पुष्टि हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

घटना सार्वजनिक भएपछि बिर्तामोड नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको संयुक्त टोलीले गणेश फ्रेस हाउसको अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलमा सरसफाईमा लापरवाही भएको भन्दै सञ्चालक गणेश श्रेष्ठलाई तीन दिनभित्र सरसफाई सुधार गर्न अल्टिमेटम दिइएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पटक–पटक चेतावनी दिँदा पनि सुधार नभएको भन्दै यसपटकको चेतावनी अन्तिम भएको बताउनुभएको छ । अनुगमनका क्रममा पसलका आवश्यक कागजातसमेत तीन वर्षदेखि नवीकरण नभएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सुभाषचन्द्र वस्तीका अनुसार बिरामी हुनुको कारण पत्ता लगाउन कुखुराको मासुसहित विभिन्न खाद्य सामग्रीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ । भोजमा प्रयोग गरिएको तेलको नमुना हल्दीबारीस्थित किराना पसलबाट समेत संकलन गरिएको छ । परीक्षणको नतिजाका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
यता, प्रभावकारी बजार अनुगमनको अभावमा अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको प्रयोगबाट सर्वसाधारणले स्वास्थ्य जोखिम मोल्नुपरेको स्थानीयको गुनासो छ । उनीहरूले खाद्य वस्तुको गुणस्तर परीक्षण र बजार अनुगमनलाई नियमित तथा प्रभावकारी बनाउन माग गरेका छन् ।
अब भोजमा प्रयोग भएका खाद्य सामग्रीकै कारण यति ठूलो संख्यामा मानिस बिरामी परेका हुन् वा अन्य कारणले त्यसको वास्तविकता प्रयोगशाला परीक्षणको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने जनाइएको छ ।







प्रतिक्रिया