मुख्य समाचार

आज क्वाँटी खाने दिन, यसरी घरमा बनाउनुहोस् स्वादिलो क्वाँटी

आज क्वाँटी खाने दिन, यसरी घरमा बनाउनुहोस् स्वादिलो क्वाँटी


काठमाडौं, १२ भदौं । नेपाली समाजमा विशेष गरी जनै पूर्णिमा र गुँपुन्हिको दिन विभिन्न नौ प्रकारका गेडागुडी भिजाएर, टुसा उमारेर बनाइने परम्परागत परिकार नै क्वाँटी हो।

नेवारी भाषामा ‘कु’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल वा सुप हुन्छ। क्वाँटी बनाउन गेडागुडीहरूमा जस्तै चना, केराउ, मास, मुगी, सिमी, भटमास, बकुल्ला, बोडी, गहुँ र मकैलाई ३–४ दिन अघिदेखि भिजाएर टुसा उम्रिए पछि मात्रै पकाइन्छ।

पकाउने र खाने तरिकाः

सामग्रीः टुसा उम्रिएका ९ थरी गेडागुडी, ज्वानो, अदुवा, लसुन, सुकेको खुर्सानी, जिरा धनियाँको धूलो, गरम मसला, टमाटर, तोरीको तेल र नुन।

पकाउने विधिः

१) प्रेसर कुकरमा तोरीको तेल तताएर ज्वाँनो, सुकेको खुर्सानी र हिङ (रुचि अनुसार) को फुरन हाल्नुहोस्।

२) अदुवा लसुनको पेस्ट, बेसार र मसलाहरू हालेर हल्का भुट्नुहोस्।

३) अब टुसा उम्रिएका गेडागुडी हालेर ४–५ मिनेट राम्ररी भुट्नुहोस्।

४) स्वाद अनुसार नुन र टमाटर हालेर पछि प्रशस्त पानी (झोल बनाउन) हाल्नुहोस्।

५) कुकरको बिर्को लगाएर ५ देखि ६ सिटी लगाउनुहोस् ताकि गेडागुडी राम्ररी गलोस्।

खाने तरिकाः क्वाँटीलाई तातो–तातो झोल अर्थात सुपको रूपमा पिउन सकिन्छ वा भात र रोटीसँग तातो तरकारी र झोलको रूपमा खान सकिन्छ।

स्वास्थ्यका लागि फाइदाहरूः

प्रचुर प्रोटिनः नौ थरी गेडागुडीको मिश्रण भएकाले यसबाट शरीरलाई पर्याप्त मात्रामा वनस्पतिजन्य प्रोटिन प्राप्त हुन्छ, जसले मांसपेशी बलियो बनाउन र शरीरको मर्मत सम्भारमा मद्दत गर्छ।

पाचन प्रक्रियामा सुधारः गेडागुडीको टुसा उमारेर पकाउँदा यसमा फाइबरको मात्रा बढ्छ र पचाउन सजिलो हुन्छ। यसले कब्जियतको समस्या हटाउँछ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धिः टुसा उम्रिएका गेडागुडीमा भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, आइरन, र मिनरल्सको मात्रा उच्च हुन्छ, जसले शरीरको इम्युनिटी अर्थात रोगसँग लड्ने क्षमता बढाउँछ।

जाडो र चिसोबाट राहतः वर्षायाम सकिन लाग्दा मौसम परिवर्तन भई लाग्ने चिसो, रुघाखोकी र शरीरको दुखाइ कम गर्न क्वाँटीको तातो झोलले प्राकृतिक औषधिको काम गर्छ। ज्वाँनोको फुरनले पेटको वायु अर्थात ग्याँस कम गर्छ।

उर्जा र रक्तसञ्चारः यसमा हुने आइरन र जटिल कार्बोहाइड्रेटले शरीरमा रगतको कमी हुन दिँदैन र दिनभर स्फूर्ति प्रदान गर्छ।

शेयर गर्नुहोस :

0
Shares