अन्तराष्ट्रिय

फिफा अध्यक्षविरुद्ध मुद्दा हाल्न युइएफएले माग्यो अमेरिकी अदालतसँग कागजात

फिफा अध्यक्षविरुद्ध मुद्दा हाल्न युइएफएले माग्यो अमेरिकी अदालतसँग कागजात


काठमाडौं, १२ भदौ । युरोपेली फुटबल संघहरूको संघ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा चलाउन अमेरिकी अदालतसँग फिफाका कागजातहरू मागेको छ।

विश्वकप बिक्री योजनालाई लिएर इन्फान्टिनोविरुद्ध फौजदारी उजुरी दिने तयारी गरिरहेको युरोपेली फुटबलको सर्वोच्च निकायले अमेरिकी अदालतसँग आवश्यक कागजात माग गरेको हो।

अदालतमा दर्ता कागजातअनुसार इन्फान्टिनोविरुद्ध मुद्दाका लागि आवश्यक पर्ने बयान र प्रमाणहरू फ्लोरिडास्थित फिफाका निकायहरूबाट प्राप्त गर्न युइएफएले अमेरिकी संघीय अदालतसँग अनुमति मागेको छ।

अमेरिकी कानुनअन्तर्गत दर्ता गरिएको एकपक्षीय निवेदनमा युइएफएले इन्फान्टिनो तथा फिफाका अन्य अधिकारी र सल्लाहकारहरूविरुद्ध फौजदारी कारबाही अघि बढाउने विषयमा विचार गरिरहेको जनाएको छ।

यो कारबाही पुरुष, महिला तथा क्लब विश्वकपका व्यावसायिक अधिकारहरूलाई ‘फिफा फर्वार्ड इन्टरप्राइज (एफएफइ)’ नामक नयाँ सहायक कम्पनीमा हस्तान्तरण गर्ने योजनासँग सम्बन्धित छ। यद्यपि, अध्यक्ष इन्फान्टिनोले उक्त योजना भने हाललाई स्थगित गरिसकेका छन्।

‘फिफाले प्रस्ताव गरेको योजनाबाट उत्पन्न परिस्थिति र यससँग सम्बन्धित कानुनी कारबाहीका बारेमा युइएफएले सक्रिय रूपमा विचार गरिरहेको छ,’ युरोपियन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। फ्लोरिडा अदालतमा दायर कागजातहरू फिफा अध्यक्षविरुद्ध मुद्दा चलाउन सहयोगी हुने उनीहरूको बुझाइ छ।

विशेष गरी युइएफए र अन्य सरोकारवाला पक्षहरूले स्विस फौजदारी संहिताको धारा १५८ अन्तर्गत इन्फान्टिनो तथा अन्य फिफा अधिकारी र सल्लाहकारहरूविरुद्ध खराब व्यवस्थापन (क्रिमिनल मिसम्यानेजमेन्ट) को अभियोगमा स्विट्जरल्याण्डमा फौजदारी मुद्दा हाल्न यी प्रयास गरिरहेका हुन्।

इन्फान्टिनोले सल्लाहकार र लगानीकर्ताहरूको सानो समूहसँग मिलेर गोप्य रूपमा यो प्रस्ताव तयार पारेको युइएफएको आरोप छ। फिफाको सामान्य प्रशासनिक प्रक्रियालाई मिचेर फिफा परिषद्, क्षेत्रीय महासंघ वा सदस्य संघहरूसँग परामर्श नगरीकन एकलौटी रूपमा एफएफइको योजना बनाइएको दाबी गरिएको छ।

एफएफइ कार्यक्रमसँग सम्बन्धित लेनदेन, योजना, संरचना र स्वीकृतिसम्बन्धी महत्त्वपूर्ण कागजात तथा साक्षी फ्लोरिडामा हुन सक्ने भएकाले अदालतको माध्यमबाट ती कागजात माग गरिएको युइएफएले जनाएको छ।

शेयर गर्नुहोस :

54
Shares