Banner news

जापानिज इन्सेफ्लाइटिस : झापामा खोप लगाउने तयारी, इपिसेन्टर बन्दै मेचीनगर

जापानिज इन्सेफ्लाइटिस : झापामा खोप लगाउने तयारी, इपिसेन्टर बन्दै मेचीनगर


झापा । स्वास्थ्य कार्यालय झापाले जापानिज इन्सेफ्लाइटिस रोगबाट मानिसको भटाभट मृत्यु हुन थालेपछि खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य कार्यालय झापाले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा सरोकारवाला र पत्रकारसँगको छलफलमा जिल्लामा सोही रोगका कारण ६ जनाको मृत्यु भइसकेको बताइएको छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार गत असार र साउनमा जिल्लाका पाँच पालिकाका ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ स्थित कदम चोकका ५७ वर्षीया महिलाको असार २९ गते भद्रपुरको ओमसाइ अस्पतालमा, बाह्दशी गाउँपालिका–३, राजबंशी चोकका ६९ वर्षीय पुरूषको असार २३ गते बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा, मेचीनगर नगरपालिका–१४ को पाटनसरवारीका ५४ वर्षीया महिलाको साउन १६ गते बीएण्डसी अस्पतालमा भएको थियो ।

त्यस्तै, मेचीनगर नगरपालिका–८ को दुर्गा मन्दिरका ६६ वर्षीया महिलाको साउन २६ गते बीएण्डसी अस्पतालमा, बिर्तामोड नगरपालिका–२ पाथिभरा टोलका ७३ वर्षीय पुरूषको साउन १६ गते बीएण्डसी अस्पतालमा र अर्जुनधारा नगरपालिका–१० सेतीगंगाकी ७३ वर्षीया महिलाको असार २७ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

गत असार र साउन महिनामा जिल्लामा उक्त रोगबाट संक्रमीत १२ जना मध्ये ६ जनाको मृत्यु भएको थियो ।
संक्रमित हुने पाँच जनामा मेचीनगर–७ र ८ का २ जना तथा बिर्तामोड–१० र कचनकवल–५ का २ जना निको भएर घर फर्किएका छन् । मेचीनगर वडा नम्बर ६ र ११ का २ जना उपचारमा रहेका छन् ।

१५ वर्ष मुनिकालाई उच्च ज्वरो आउने भनिए पनि विरामी भएका प्रायः ५० वर्षमाथिका दीर्घ रोगीहरू रहेका छन् । झापाका ३० वर्ष माथिका ५ लाख मानिसलाई जापानिज इन्सेफ्लाइटिस रोग विरूद्धको खोप लगाउने लक्ष्य रहेको दासले जानकारी दिए ।

उनका अनुसार भदौको अन्तिम साता वा असोज महिनाको पहिलो हप्तादेखि खोप दिने गरी भण्डारणका लागि तयारी गरिरहेको छ । कार्यालय प्रमुख दासले सो रोगका विषयमा प्राजेक्टर मार्फत प्रस्तुतिकरण गरेका थिए ।
विशेषत लामखुट्टेबाट सर्ने यो रोग प्रायः धानखेतमा रहेका बकुल्ला, सुँगुर, हाँस, कुखुराबाट मानिसमा सर्छ । फोहोर र हिलोमा बस्ने लामखुट्टेले पशुपंक्षीहरूबाट सार्ने गर्छ ।

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवम् खोप समन्वय समितिकि सहसंयोजक शान्ता रोक्का क्षेत्री, हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला लगायतले यसको जोखिम, संक्रमण, बाच्ने उपाया र समाधान लगायतका विषयमा चर्चा गरेका थिए ।

इपिसेन्टर बन्दै मेचीनगर
झापाको मेचीनगर झजापानिज इन्सेफ्लाइटिस’ रोगको इपिसेन्टर बन्दै गएको छ । नगरपालिका स्वास्थ्य शाखाको बार्षिक तथ्यांक हेर्ने हो भने गत तीन वर्षमा ५ जनाको सोही रोगका कारण मृत्यु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले अघिल्लो वर्ष १ जना, गत वर्ष २ जना, चालू आर्थिक वर्षमा २ जनाको मृत्यु भएको र संक्रमितहरूको संख्या पनि बढीरहेको जानकारी दिइन् ।

मेचीनगरमा संक्रमित भएका ६ जना मध्ये मृत्यु हुने १ जना वडा नम्बर १४ स्थित पाटनसरवारीका ५४ वर्षीया महिलाको साउन १६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरी वडा नम्बर ८ को दुर्गा मन्दिर टोलका ६६ वर्षीया महिलाको साउन २६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
संक्रमित हुने ६ जनामा मेचीनगर–७ र ८ का २ जना निको भएर घर फर्किएका छन् भने वडा नम्बर ६ र ११ का २ जना अस्पतालमा उपचार गरिरहेका छन् । वडा नम्बर ६ का १ जना विहीबारै संक्रमित भएका हुन् ।
स्वास्थ्य शाखाको टिमले स्थलगत निरीक्षण गरेर संक्रमित र स्थानीयहरूलाई सचेतना दिने, जाँच गर्ने, स्क्रिन गर्ने काम गरिरहेको छ ।

गतवर्ष केन्द्रबाट सम्बन्धित मन्त्रालयको विज्ञ टोली आएर उक्त रोगबाट संक्रमितका घरघरमा पुगेर स्थलगत निरीक्षण गरेको थियो । घर छेउछाउमा सुँगुर, हाँस, कुखुरा पाल्ने, सरसफाइ नगर्ने, धान खेतमा, झाडीमा बकुल्लाहरू आउने कारण लामखुट्टेले टोक्ने गर्छ र त्यही लामखुट्टेले सबैतिर सार्ने गर्छ ।

१५ वर्ष मुनिका बालबालिका र दीर्घ रोगीहरू यसको पहिलो जोखिममा रहेको स्वास्थ्य शाखाको भनाई छ ।
स्वास्थ्य कार्यालय झापाले आगामी भदौ अन्तिम वा असोज महिनाको पहिलो हप्तादेखि ३० वर्षमाथिका ५ लाख मानिसलाई उक्त रोग विरूद्धको खोप लगाउने तयारी गरेको छ ।

झापामा गत असार र साउन महिनामा उक्त रोगबाट संक्रमीत १२ जना मध्ये ६ जनाको मृत्यु भएको थियो ।
झापाका केही पालिका र मेचीनगरमा उक्त रोगका कारण वर्षेनी नागरिकको ज्यान गइरहेको छ । यसको मुख्य कारण सरकारी निकायको प्रभावकारिता कम भएको महसुस हुन्छ ।

यस्तो संवेदनशिल विषयमा तीन तहकै सरकारले चासो दिनु पर्छ । स्थानीय तहको पहलले मात्र सम्भव छैन् । यसका लागि प्रदेश र संघीय सरकारले सहकार्य र सहयोग गर्नु पर्ने स्थानीयबासीको गुनासो छ ।

ढिलै भए पनि सरकारले यसपटक खोप लगाउने तयारी गरेको छ, यो राम्रो पक्ष हो । कतिको सफल हुन्छ हेर्न बाँकी छ ।
स्वास्थ्य शाखा प्रमुख सापकोटाले मेचीनगरका १ लाख ९ हजार नगरवासी मध्ये ३० वर्षमाथिका ६५ हजार बढीलाई खोप लगाइने बताइन् ।

शेयर गर्नुहोस :

0
Shares