झापा । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था, व्यवसायिक प्रतिष्ठान , वित्तीय संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग पठाइरहेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाले भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको विपद् प्रतिकार्य, उद्धार तथा पुनस्र्थापन कार्यलाई सघाउन नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको आह्वानमा सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । स्थानीय उद्योगी, व्यापारी, सामुदायिक वन, खानेपानी उपभोक्ता समिति, संस्थागत विद्यालयका प्रतिनिधिहरूसँगको छलफलपश्चात् जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी कुल २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै, बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहीवार बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकमा नगर प्रमुख प्रसाईले बाढीका कारण रसुवा टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभयो ।
नगर प्रमुख प्रसाईले उद्धार तथा राहत कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न तथा मानवीय सेवामा जुट्न सम्पूर्ण नागरिक, संघ संस्था र निजी क्षेत्रलाई समेत अपिल गर्नुभएको छ । यस्तै, भदैपुर नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि मेचीनगरका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा वडा सदस्यहरूले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।
नगरप्रमुखले रु. ५ हजार र नगर उपप्रमुखले रु. ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । त्यसैगरी कार्यपालिका सदस्यले रु. २ हजार, वडा अध्यक्षले रु. २ हजार तथा वडा सदस्यले रु. १ हजार सहयोग गर्ने भएका छन् ।
विपद्को समयमा पीडितलाई राहत र उद्धारमा सहयोग पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गर्न लागिएको नगर प्रमूख गोपाल चन्द्र बुढाथोकीले बताए ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले उद्धार तथा राहत कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने नगरप्रमुख बुढाथोकीले बताए ।
मेचीनगरका जनप्रतिनिधिहरूको यो सहयोगले विपद्को समयमा स्थानीय तहका जनप्रतिनिधिबीचको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई समेत देखाएको छ ।
बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले १ लाख ४० हजार, व्यवसायी निर्मल भट्टराईको अगुवामा ३ लाख ५१ हजार, क्वालिटी कम्प्युटर बिर्तामोडबाट ७५ हजार, विराट अर्जुन सहकारी बिर्तामोडबाट १० हजार सहयोग पठाइएको छ । कोषमा जिल्लाका अन्य स्थानीय तहहरु, संघ संस्थारुले पनि धमाधम सहयोगको घोषणा गरिरहेका छन् भने व्यक्तिगत रुपमा पनि सहयोग गर्ने काम भइरहेको छ ।








प्रतिक्रिया