मुख्य समाचार

नेटवर्किङको नाममा ठगी गर्ने आचार्य पक्राउ

नेटवर्किङको नाममा ठगी गर्ने आचार्य पक्राउ


काठमाडौँ – नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीकी सङ्गीता आचार्य रहेकी छन् । उनलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आचार्यले काठमाडौँ महानगरपालिका–३१ ठूलो खरिबोटमा घर भाडामा लिई ‘विजडम हब इन्टरनेसनल प्रालि’ सञ्चालन गर्दै आएकी थिइन् । सो कम्पनीमार्फत स्याम्पु, साबुन, घिउकुमारीको सामान, हिमाली सिस्नु पाउडरलगायत विभिन्न वस्तु अत्यधिक मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, रोजगारीको आकर्षक अवसर र सुविधासहितको तलब उपलब्ध गराउने प्रलोभन देखाई सर्वसाधारणलाई अग्रिम रूपमा ठूलो रकम जम्मा गर्न लगाउने र नेटवर्क बनाई झुक्यानमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

ठगीपछि फरार रहेकी आचार्यलाई खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी आचार्यविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थपको अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको प्रवक्ता थापाले बताउनुभयो ।

शेयर गर्नुहोस :

81
Shares