Banner news

भोटेकोशी बाढीः झापाका १२ जना सम्पर्कविहीन

भोटेकोशी बाढीः झापाका १२ जना सम्पर्कविहीन


झापा । रसुवास्थित विभिन्न जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत झापाका १२ जना भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बाढीपछि बेपत्ता १२ जनामध्ये १० जना झापाका स्थायी बासिन्दा तथा इलाम र सप्तरीबाट आएका एक–एक जना रहेका छन् ।

सम्पर्कविहीन हुनेमा मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका ४२ वर्षीय दीपक खरेल, कनकाई नगरपालिका–३ नयाँबस्तीका ३८ वर्षीय घनश्याम भट्टराई, इलाम माई नगरपालिका–६ का ३१ वर्षीय विनोद राई, शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय तेजबहादुर राई, गौरीगञ्ज गाउँपालिका–३ का ३९ वर्षीय चुड्का टुडु, दमक नगरपालिका–१० का २६ वर्षीय माल मुर्मु, गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय केवलनाथ आचार्य, सप्तरी कञ्चनरुप नगरपालिका–.का २८ वर्षीय नवीन श्रेष्ठ र कनकाई नगरपालिका–२ का ५६ वर्षीय लक्ष्मण गुरुङ, बुद्धशान्ति – २ का राजकुमार दियाली, श्रीमति श्रुति दियाली र ४ वर्षीय छोरा श्रीराज दियाली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूमध्ये केही अपर त्रिशूली जलविद्युत् आयोजना, केही हाइड्रोपावर तथा निर्माण कम्पनीमा कार्यरत थिए । नदीमा आएको बाढीपछि उनीहरूसँग परिवार तथा आफन्तको सम्पर्क टुटेको हो ।

सम्पर्कविहीनमध्ये दीपक खरेल अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए भने चुड्का टुडु एन्ड्रिज हाइड्रो प्रोजेक्टअन्तर्गत अपर त्रिशूलीमा कार्यरत थिए । त्यस्तै, केवलनाथ आचार्य अपर त्रिशूली जलविद्युत् आयोजनामा सेफ्टी इन्जिनियर र घनश्याम भट्टराई हाइड्रो प्रोजेक्टमा स्काभेटर अपरेटरका रूपमा कार्यरत थिए । नविन श्रेष्ठ ट्रक चालकका रूपमा कार्यरत थिए भने अन्य विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको जनाइएको छ । दियाली परिवार सुनचाँदी व्यवसाय गर्दै बसेका थिए ।

भोटेकोशीमा आएको बाढीपछि झापाबाट रसुवा पुगेका अन्य व्यक्तिको अवस्थाबारे समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा गएका व्यक्तिहरू परिवारको सम्पर्कमा आए–नआएको यकिन गरी जोखिममा रहेको पाइएमा प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares