प्रदीप परियार
बिर्तामोड । झापाको अर्जुनधारा – ६ मा धुम्रपान र मद्यपान निषेध गरिएको छ । बिहीवार बृहत ¥याली गर्दै वडाभित्र सार्वजनिक स्थलमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा गरिएको हो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, वडाबासीहरु, विद्यार्थी तथा अभिभावहरुको संयुक्त ¥याली गर्दै वडालाई सार्वजनिक स्थलमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा गरिएको हो ।
लागुऔषध प्रयोगकर्ता र कारोवारीहरुको मुख्य केन्द्र बन्दै गएपछि वडाले उक्त घोषणा गरेको जनाएको छ ।

लागुऔषधलाई न्यूनिकरण गर्न तल्लो तहबाटै अभियान आवश्यक भएपछि सार्वजनिक स्थलमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा गरेको वडाध्यक्षको भनाई छ । एकैपटक लागुऔषध हटाउने भन्दा पनि यसको जग धुम्रपान मद्यपान भएकाले सार्वजनिक स्थलमा निषेध गरेका हौं, वडाध्यक्ष बास्तोलाले भने – सार्वजनिक ठाउँमा धुम्रपान मद्यपान खाएको नदेखे विद्यार्थी र युवाहरुमा सकारात्मक सन्देश जानेछ । यो अभियानले बेलैमा युवा विद्यार्थीहरुलाई ठिक बाटोमा हिडाउन मद्दत पुग्ने छ ।
लागुऔषधको प्रारम्भिक चरण धुम्रपान र मद्यपान भएकाले यसलाई सार्वजनिक स्थलमा निषेध गरिएको वडाध्यक्ष बास्तोला बताउछन् । उनले १८ वर्षमुनीका बालबालिकाहरुलाई धुम्रपान र मद्यपान विक्री समेत गर्न नपाइने बताए । अभियानको सुरुवातमा सम्झौछौं, अटेरी गरेका कानुन बमोजिम कारबाही हुनेछ – उनले भने ।
यस्तै, नगर प्रमुख तामाङले वडा नं. ६ को अभियानलाई सफल बनाउन वडाबासीहरुलाई आग्रह गरेका छन् । उनले सानै उमेरबाट बालबालिकाहरुमा चेतना जगाएर गलत बाटो हिड्नबाट रोक्नुपर्ने धारणा व्यक्त गरे । जनप्रतिनिधि, संघ संस्थाहरु, शिक्षा क्षेत्रका अगुवा, विद्यार्थी, अभिभावकहरुको साझा प्रयास र एकताबाट मात्रै अभियान सफल हुने नगर प्रमुख तामाङको भनाई थियो ।
ठुलाबडाले सार्वजनिक ठाउँमा चुरोट तानेको, रक्सी खाएको देखेपछि साना बालबालिकाहरुले त्यहि सिक्ने भन्दै अभिभावकहरुलाई समेत सचेत रहन आग्रह गरिएको छ । अहिले राम्रो सिकायो भने नयाँ पुस्ताले पनि राम्रै सिक्ने हो, नगरप्रमुख तामाङले भने ।
वडा नं. ६ का टोलविकास संस्था, विद्यालयहरु, सामाजिक अगुवा तथा किर्तन मण्डलीहरुको समेत सूझावका आधारमा वडाभित्रका सार्वजनिक स्थानमा धुम्रपान मद्यपान निषेध गर्ने घोषणा गरिएको हो ।








प्रतिक्रिया