प्रदीप परियार
हे भगवान !
अब उप्रान्त मेरो देश नेपालमा
यस्तो कहिल्यै नहोस् ।
यो भनाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरुङको हो । उनको यो भनाईसहित हात जोडेको तस्वीर हरेक स्टोरमा राखिएको छ । स्टोरको बाहिर भागमा सबैले देख्ने गरी राखिएको फोटो जेनजी आन्दोलनपछि मात्रै राखिएको हो । २०८२ भदौं २३ गते जेनजी आन्दोलन भयो । २४ गते भएको अपराधिक गतिविधिको शिकार भाटभटेनी सुपरमार्केट पनि भएको थियो । देशभर रहेका भाटभटेनीका स्टोरमध्ये १२ वटा स्टोरमा जेनजी आन्दोलनका नाममा आगजनी, लुटपाट, तोडफोड गरिएको थियो । आगजनी र तोडफोडबाट क्षति पुगेको भाटभटेनीका स्टोरहरु पुननिर्माणपछि धमाधम सञ्चालनमा आइरहेका छन् । यसै क्रममा झापाको बिर्तामोडमा रहेको स्टोर पनि आज भदौं १४ गतेबाट सञ्चालनमा आउदैंछ ।
सर्वप्रथम बिर्तामोडको भाटभटेनी सुपरमार्केट आजबाट सञ्चालनमा ल्याउन पुनर्निमाणमा खटिने हातहरु, सञ्चालनका निमित्त अहोरात्र खटिने भाटभटेनी टिम र खरानीबाट उठ्ने साहस बोक्नुभएका मिनबहादुर गुरुङप्रति सम्मान छ । खरानी बनाइएको भाटभटेनी फेरि आम उपभोक्तालाई सेवा गर्न शुभारम्भ भएको खवरले उपभोक्ताहरुलाई पनि खुशी बनाएको छ । समग्र उपभोक्ताहरुलाई उत्साहित बनाएको छ ।

साना नानीहरुलाई लिएर भाटभटेनीमा सामान खरिद गर्न जाँदाको खुशी आम अभिभावकहरुलाई स्मरण नै हुनुपर्छ । बालबालिकाहरु भाटभटेनी भनेपछि हुरुक्क हुने गर्छन् । बालबालिकाहरुलाई किनमेलभन्दा पनि खेल्न र मिठो परिकारहरु खानका लागि आनन्द मान्छन् । किनमेल पनि हुने, नानीहरुलाई खेलाउन पनि पाइने भएपछि उपभोक्ताहरुको मुख्य रोजाईमा पनि छ, भाटभटेनी ।
जेनजी आन्दोलनमा २३ गते आगजनी तोडफोड भएको थिएन । २४ गते विहानैबाट तोडफोड, आगजनी र आक्रमण गर्ने गतिविधिहरु भए । भाटभटेनीहरु पनि २४ गते जलाएका थिए । भाटभटेनी जलाउनुपर्ने कुनै कारण थिएन । अपराधिक मानसिकता भएकाहरुले लुटपाट गर्ने बहानामा प्रवेश गरे, लुटे र आगो लगाए । समाजमा एउटा तप्ता कामै नलाग्ने हुन्छ । जसको काम भनेको चोरी, लुटपाट, हत्या, हिंसा पेशा जस्तै हुन्छ । उनीहरुका लागि जेनजी आन्दोलन मौका थियो । अपराधिक मानसिकता भएकाहरुका लागि अवसर थियो । भाटभटेनीमा लुटपाट गर्दै सामान बोकेर हिड्ने केही व्यापारी, युवा जमात, बौद्धिक भनिएका कतिपय पात्रहरुले क्षणभरमै भाटभटेनी खरानी बनाए । सामान चोरी गरेर आगो लगाए । कतिपय अपराधिक मानसिकता भएकाहरुले त्यहाँ आफै सजाय समेत भोगे । कुनै पनि तर्कबाट भाटभटेनीमा लुटपाट मच्चाएको र आगो लगाएकोमा माफी दिन सकिदैन । त्यो कर्म, अपराध हो, अपराध कहिल्यै लुक्दैन ।
हजारौंलाई रोजगारी दिइरहेको भाटभटेनी देशकै ठुलो रिटेल मार्केट हो । देशकै उत्कृष्ट करदातामा पर्ने भाटभटेनीले स्थानीय अर्थतन्त्र विस्तारमा ठुलो योगदान गरेको छ । यसले व्यापार मात्र गरेको छैन, यसले समाजमा सेवा पनि असाध्यै धेरै गरेको छ । मान्छेहरुको बुझाई अलि फरक छ, भाटभटेनीले हाम्रो व्यापार विगार्ने भयो वा हाम्रो व्यापार घटाउने भयो भन्ने सोच पनि सुन्न पाइन्छ । उपभोक्ताले सहुलियत, गुणस्तर र सहजता खोज्ने हो । जहाँ त्यो पाइन्छ, उपभोक्ता त्यहाँ पुग्ने हो । फेरि भाटभटेनीमा सबै सामान एकै ठाउँमा पाइन्छ । मुल्य निश्चित छ, जसले उपभोक्तालाई ठगिको गुञ्जायस हुदैन ।
अहिले पनि सामाजिक सञ्जालमा त्यो दिन सामान बोकेर हिड्नेहरुको तस्वीर देखिन्छ । आगो लगाउन जाने जत्था पनि प्रष्टै चिनिन्छ । उनीहरु, अझै पनि गौरवका साथ हिडिरहेका छन् । पात्र धेरै छन्, एक जना बिर्तामोडमा व्यवसाय गर्ने महिलाले सामान बोकेर भाग्दै गरेको तस्वीर देख्दा धिक्कार लाग्यो । आखिर व्यापारिक प्रतिष्ठानमा लुटपाट हुँदा, आगो लाग्दा ति व्यापारी किन त्यहाँ पुगिन ? समाजलाई अर्ति दिएर बस्नेहरुबाट भएका त्यस्ता व्यवहार स्मरण गर्दा दया लाग्छ । ति लुटेरा, अपराधिक मानसिकता भएकाहरुप्रति खेद छ ।
भाटभटेनी बिर्तामोडको साझा सम्पत्ति हो । लगानी मिनबहादुर गुरुङको भए पनि यो आम उपभोक्ताको साझा सम्पत्ति हो । भाटभटेनीमा आगो लगाउनुपर्छ भन्ने सोच कहाँबाट आयो ? जसले यसको महत्व बुझेन, जसले यसलाई उपभोक्ताको सम्पत्ति भन्ने बुझेन । तिनिहरुले भाटभटेनीलाई खरानी बनाए । कसैको निजी सम्पत्ति होस् वा सार्वजनिक सम्पत्ति, त्यसको रक्षा गर्ने दायित्व सबैको हो । आवेग र उत्तेजनाकै भरमा जलाइदिने, लुटपाट गर्ने प्रवृत्ति अपराधिक सोच हो । अब उप्रान्त, यस प्रकारका गतिविधि कसैले गर्न हुदैन । यदि कसैले गर्दैछ भने पनि रोक्नुपर्छ । सुरक्षा दिनुपर्छ ।
यो सन्दर्भ भाटभाटेनीको हो, तर सबै निजी र सार्वजनिक सम्पत्ति रक्षाका लागि भूमिका निर्वाह गर्नुपर्छ । आन्दोलन , झैझगडा फेरि पनि हुन सक्छ । कसैको पनि सम्पत्तिमाथि अपराधिक दृष्टि प्रस्तुत गर्न हुदैन । नेपाली समाजकै बदनाम हुने त्यो कालो दिन फेरि फर्किन हुदैन । अपवादमा त्यस प्रकारका दिनहरु फर्किए भने कसैले कसैको पनि सम्पत्तिमा क्षति गर्न हुदैन । जनधनको क्षति गर्न हुदैन, हुन दिनु पनि हुदैन ।
यहाँका सबै व्यवसायीहरु, व्यापार क्षेत्र भनेको यसै ठाउँको सम्पत्ति हो । त्यसैले रक्षार्थ सबैको भूमिका पनि अनिवार्य छ । समाजमा रहेका त्यस्ता पात्रहरुलाई सचेत बनाउदै सबक पनि सिकाउनुपर्छ । समाजलाई यसै गरी अघि बढ्न दिने हो भने नेपाली समाज अराजक र अपराधिक सोच भएकाहरुले भरिने छ । त्यसैले अबको पुस्ताका लागि पनि सचेत नागरिकहरुले गम्भीर बन्न आवश्यक छ ।
बिर्तामोडको भाटभटेनीमा सिक्किम, दार्जिलिङदेखि पश्चिम बंगाल, विहारसम्मका उपभोक्ताहरु आउने गरेका थिए । जिल्लाका उपभोक्ताहरुको लागि पनि सजिलो थियो । ससानो सामान खरिद गर्न समेत भारतीय बजार जाने नेपाली उपभोक्ताहरुलाई रोक्नसक्नु ठुलो कुरा हो । भाटभटेनीले देशबाहिरका उपभोक्तालाई समेत आकर्षित गरेको छ भने अन्य व्यवसायिक प्रतिष्ठानहरुले पनि आकर्षित गर्न सक्नुपर्छ । देशबाहिरको पैसा स्वदेशमा भित्राउनुपर्छ । व्यापार वृद्धि गरेर मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्नुपर्छ । अबको आगामी यात्रा यसैगरी बढाउनुपर्छ ।
अन्त्यमा, तोडफोड, आगजनी र लुटपाट अति घृणित र स्वीकार गर्नै नसकिने घटना हो । त्यस कार्यमा संलग्नहरुलाई यो समाजले मान्छे बनाउनुपर्छ । कोही अन्जानमा पुगे, कोही नियतवस त्यहाँ पुगे । तिनिहरु विवेकहिन बने । अब, सुध्रिएर सबैको सम्पत्ति रक्षामा भूमिका निर्वाह गर्नुपर्छ । हिंसाको बाटो छोडेर शान्ति बाटोमा अघि बढौं ।








प्रतिक्रिया