बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको नयाँ नेतृत्वको चयन अनिश्चित बनेको छ । आइतवार अपरान्ह ४ बजे गर्ने भनिएको मतदान स्थगित भएसँगै नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको हो । संशोधित निर्वाचन कार्यक्रम अनुसार ४ बजेदेखि ६ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो ।
प्रेस युनियन झापाको नयाँ नेतृत्वको लागि अध्यक्षमा राजेन्द्र गौतम र अर्जुन राजवंशीले मनोनयन दर्ता गरेका थिए । उनीहरुले शनिवार दमकस्थित नेपालरिका होटलमा आयोजित अधिवेशनकै क्रममा मनोनयन दर्ता गराएका हुन् । शनिवार नै नेतृत्व चयन सम्पन्न गर्ने भनेपनि स्थगित गरेर प्रतिनिधिहरुलाई घर पठाइएको थियो । उनीहरुलाई आइतवार १ बजे अर्जुनधारा – ६ स्थित सिके चिन्तन प्रतिष्ठानको हलमा बाँकी प्रक्रिया अघि बढाइने सूचनासहित घर पठाइएको थियो ।
नेपाली कांग्रेसको भातृ संस्था प्रेस युनियनलाई पार्टी नेतृत्वले सहमतिबाट नेतृत्व चयन गर्न भनेको छ ।

अधिवेशन उद्घाटनका क्रममा नेताहरुले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर सर्वसम्मत गर्न जोड दिएपनि दुई दिनसम्म सहमति जुट्न सकेन । सहमति नभएपछि बाँकी प्रक्रिया अनिश्चित भएको हो । प्रेस युनियनको जिल्ला नेतृत्व चयनमा स्पष्ट दुई लाइन देखिएको छ । पार्टी संस्थापन र इतरपक्षबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिहरु समेत अन्यौलमा परेका छन् ।
अधिवेशनको उदेघाटन शत्रमा नेताहरुले कुनै हालतमा निर्वाचन गर्न नहुने कडा निर्देशन नै दिए । पार्टीको संस्थापन पक्षले निर्वाचन गर्न नहुने भनेपछि राजेन्द्र गौतम पक्षधरले सहमति गरेरै नेतृत्व चयन हुनुपर्ने अडान राखेको छ । पार्टीको वर्तमान परिस्थिति ठिक छैन, संस्थापन पक्षका एक प्रतिनिधि भन्छन् – कुनै हालतमा निर्वाचन गर्न हुदैन । पार्टीको निर्देशन बमोजिम सहमतिबाट नेतृत्व चयन हुनुपर्छ ।
यता, इतर पक्षका उम्मेदवार अर्जुन राजवंशी पक्षका प्रतिनिधिहरुले सहमति नभए प्रक्रिया बमोजिम निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । सहमति हुदैन भने नेतृत्व चयनलाई अनिश्चित पाउन मिल्दैन, उनीहरुले भने – अधिकांश पदमा सर्वसम्मत भइसकेको छ । अध्यक्ष, उपाध्यक्ष र सहसचिवमा निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्छ ।
राजवंशी पक्षका प्रतिनिधिहरुले निर्वाचनबाट कोही पनि भाग्न नहुने प्रतिक्रिया दिइरहेका छन् । निर्वाचनमा प्रतिनिधिको विश्वास जितेर आउनुपर्छ, राजवंशी पक्षले थपे ।
खुल्ला उपाध्यक्षमा इश्वर अधिकारी र विष्णु पौडेलले मनोनयदन दर्ता गरेका छन् भने सहसचिवमा केशवराज भण्डारी, तुलसी निरौला र कौशल भण्डारीले मनोनयन दर्ता गरेका छन् ।
महिला उपाध्यक्षमा शुष्मा राजवंशी, समावेशी उपाध्यक्षमा सेसेहाङ फियाक, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा देवेन्द्र प्रसाई र सदस्यहरु सर्वसम्मत भइसकेका छन् । प्रदेश र केन्द्रीय प्रतिनिधिमा समेत आवश्यकताभन्दा धेरै उम्मेवारी परेको छ ।
पटक–पटक निर्वाचन गरेर युनियन विभाजित बनेको भन्दै धेरैजसो प्रतिनिधिहरुले सर्वसम्मत गर्न जोड दिएका छन् । पार्टीका नेताहरुले समेत निर्वाचन गरेर जाँदा युनियनमा एकता नहुने प्रष्ट सन्देश दिएपछि निर्वाचनको विकल्प रोज्नुपर्ने सूझाव छ । अधिवेशन उद्घाटनका क्रममा नेताहरुले पार्टीमा समस्या भइरहेको बेला युनियनले एकताको सन्देश दिनुपर्ने सूझाव दिए । युनियनको अधिवेशनमा झापाको पार्टी नेतृत्व खुलेर हस्तक्षेपमा उत्रिएको कतिपय प्रतिनिधिको आरोप छ ।
तत्कालै नेतृत्व चयन प्रक्रिया टुंगो लाग्न नसके राष्ट्रिय महाधिवेशनअघि झापाको नेतृत्व चयन प्रक्रिया पुरा नहुने आशंका गरिएको छ । प्रेस युनियन झापाको अधिवेशनमा १३४ जना प्रतिनिधि रहेका छन् ।








प्रतिक्रिया