बिर्तामोड । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले ४ विघा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गर्ने भएको छ । हालै सम्पन्न पार्टीको बैठकले आन्तरिक आय वृद्धि गर्न र कार्यकर्तालाई उत्पादनसँग जोड्न बाह्रदशीको वडा नं. ४ र ५ मा अर्गानिक तरकारी खेती सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष अनिल सापकोटाको अध्यक्षतामा बसेको बैठकले आगामी २०८३ साल चैत्रसम्मका लागि पार्टीको वार्षिक संगठनात्मक तथा राजनीतिक कार्ययोजना पारित गरेको थियो ।

बैठकले पार्टी संगठनलाई थप व्यवस्थित, गतिशील, अनुशासित र जनमुखी बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक चुनौतीहरूको सामना गर्ने उद्देश्यका साथ योजनाहरू अघि सारेको छ । पार्टी जीवनमा देखिएको शिथिलतालाई ऊर्जामा बदल्दै आगामी स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गरी सम्भावित नेतृत्वको पहिचान, क्षमता विकास र वडा तहमा संगठनात्मक तयारीलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, बाह्रदशीका ५० जना अगुवा कार्यकर्तालाई लक्षित गरी स्थानीय सरकार सञ्चालन तथा क्षमता विकाससम्बन्धी ३० दिने प्रशिक्षण कक्षा आगामी असोजको पहिलो सातादेखि सञ्चालन गरिने भएको छ । ३५ वर्षभन्दा बढी अवधिदेखि निरन्तर लेवी बुझाउँदै आएका तथा २०४७ साल पुस ९ गते वा सोभन्दा अघिदेखि निरन्तर योगदान पु¥याएका अग्रज कार्यकर्ताहरूलाई आगामी पुसको पहिलो साता सुखानी शहादत स्थल (माई नगरपालिका) मा आयोजना हुने राजनीतिक अवलोकन भ्रमणका क्रममा कदरपत्रसहित सम्मान गरिनेछ ।

पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘एक एकीकृत बाह्रदशी निर्माणको ५ वर्षे विकास दृष्टिकोण’ तयार गर्ने निर्णय पनि गरेको छ । कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, पर्यटन र डिजिटल सेवाजस्ता विषयहरू समेटेर सरोकारवालासँगको छलफलपछि चुनावी घोषणापत्रको आधार स्तम्भ तयार पारिनेछ ।
संगठन सुदृढीकरणका लागि गाउँ कमिटीले निर्माण गरेका ३६ वटा टोल कमिटीहरूलाई क्रियाशील बनाउन छुट्टै उत्प्रेरकहरू तोकिएको छ भने सातवटै वडामा आन्तरिक द्वन्द्व व्यवस्थापन र रणनीतिक सहजीकरणका लागि आन्तरिक समन्वय तथा योजना समिति गठन गरिएको जनाइएको छ । भदौ अन्तिम सातादेखि ‘जनताका कुरा सुन्ने, समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने’ संस्कृतिअनुसार कार्यकर्ता भेटघाट तथा मतदाताको लगत सङ्कलन अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि हरिबहादुर राजवंशी , एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी, कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल, क्षेत्रीय संयोजक लक्ष्मण पाठक लगायतले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया