बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाले भोटेकोशीका बाढी प्रभावितहरुका लागि एकमुष्ट ४ लाख ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ । आज संघको बिर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष धनबहादुर पन्धाकले सहयोग रकम घोषणा गरेका हुन् ।

झापा बिर्तामोड क्षेत्रमा रहेका वैदेशिक रोजगार व्यवसायीहरुबाट संकलित रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरिने संघका अध्यक्ष पन्धाकले जानकारी दिए । उनका अनुसार संघको अगुवाई व्यवसायीहरुबाट बाढी प्रभावितहरुका लागि सहयोग गर्न लागिएको हो । धेरै व्यवसायीहरुले व्यक्तिगत रुपमा पनि कोषमा सहयोग जम्मा गरिसक्नु भएको थियो, अध्यक्ष पन्धाकले भने – संघको आग्रहमा पनि व्यवसायीहरुले संस्थागत रुपमा सहयोग पठाउन सहयोग गर्नुभयो ।
झापामा वैदेशिक रोजगार व्यवसायी संघले प्राकृतिक विपत्तिबाट प्रभावितहरुलाई यसअघि पनि सहयोग गर्दै आएको संघका प्रथम उपाध्यक्ष राजन सिलवालले जानकारी दिए । उनले जेनजी आन्दोलनबाट क्षति पुगेको सुरक्षा निकायका कार्यालयहरुमा समेत पुननिर्माणमा सहयोग गरेको बताएका छन् । सामाजिक रुपमा आगामी दिनहरुमा पनि संघको तर्फबाट सहयोग गर्दै जाने उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बाढी प्रभावितहरुका लागि संघको तर्फबाट सहयोग रकम घोषणा गरेकामा धन्यवाद व्यक्त गरे ।








प्रतिक्रिया