झापा । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सूर्यप्रसाद रिमाल नियुक्त हुनु भएको छ ।
विगत १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । बेलबारी नगरपालिका–६, मोरङ निवासी रिमालको प्राध्यापनको समेत अनुभव रहेको छ ।

एनएमसीको सञ्चालक समितिको भदौ १० गते सम्पन्न बैठकबाट असोज १ गतेदेखि लागू हुनेगरी रिमाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले बताउनु भयो ।
एनएमसीमा प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लक्ष्मीप्रसाद उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा निर्वाचित भएपश्चात गत जेठमा एनएमसीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिनु भएको थियो ।
रिक्त रहेको प्रमुुख कार्यकारी अधिकृत पदपूतिका लागि संस्थाले गत असार १५ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । असार मसान्तसम्म समय सिमा निर्धारण गरी आवेदन माग गरिएकोमा तोकिएको समय सिमाभित्र दर्ता भएका आवेदनहरुमध्ये संस्थाले तोकेको मापदण्डबमोजिम प्रारम्भिक सूची -सर्ट लिस्ट)का लागि छनोट गरिएको थियो ।
प्रारम्भिक सूचीमा पर्न सफल उम्मेद्वारहरुका बिच भदौ ६ र ७ गते सम्पन्न व्यावसायिक योजना प्रस्तुति तथा अन्तर्वार्तामा अन्य उम्मेद्वारहरुलाई पछि पार्दै रिमाल प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।
देशकै प्रमुख सहकारी संस्थाहरुमध्येको एक एनएमसीले बचत तथा ऋण, डेरी उद्योग, एनएमसी एग्रो फार्म, सहकारी पसल व्यवसाय र चिया उद्योग सञ्चालनमा रहेको छ । एकलाख ७० हजारभन्दा बढी सदस्य रहेको संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ रहेको छ ।








प्रतिक्रिया